काठमाडौं, ७ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा २ का उम्मेदवार उपेन्द्र यादवले जनमत पार्टी अध्यक्ष सीके राउत कसैको इशारामा आफूलाई हराउन लागिरहेको आरोप लगाएका छन् ।
‘सीके राउतले कतैबाट उपेन्द्र यादव हराउने ड्युटी पाएको हुन सक्छ । त्योभन्दा बढी के काम छ र उनको ? प्रायोजित मान्छे न हो । त्यस्ता मान्छेको के अर्थ हुन्छ ? उसको जिन्दगीको लक्ष्य नै यति मात्र हो, उपेन्द्र यादव हराऊ । अरु केही गर्नु छैन उसलाई । उसको गरिखाने भाँडो र मागी खाने बाटो नै त्यही हो,’ पत्रकार ऋषि धमलासँग संवाद गर्दै ‘उपनिर्वाचन बहस’ गर्दै उनले भने ।
विदेशको आडमा आफ्नो मुलुकको अहित गर्ने सीके राउतसँग आफ्नो पार्टीको कार्यगत हुनै नसक्ने जिकिर पनि यादवले गरे । उनले थपे, ‘हाम्रो पार्टी र म नेपालको सार्वभौमिकसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको पक्षमा चट्टानझैं अडिएका छौं । तर सीके राउत देश विखण्डन गर्ने, राष्ट्रियता एकतामा चुनौती दिने र जातजातिबीच घृणा फैलाउने बिष घोल्ने मान्छे हो । विखण्डन र राष्ट्रवादी शक्तिबीच कसरी कार्यगत एकता हुन सक्छ ? तपाईंले कहिल्यै सीके राउतलाई मधेस आन्दोलनमा भाग लिएको देख्नुभयो ? जनआन्दोलनमा कहिल्यै भाग लिएका देख्नुभयो । ऊ त त्यसको विरोधमा थियो ।’ आफूलाई जिताउन गठबन्धन दलहरु र जनता एकगठ भएर लागेको दाबी पनि उनले गरे ।