Logo

कृषिमा रमाउँदै जुम्लाको ‘सिकारी गाउँ’



जुम्ला, वैशाख ८ । जुम्ला खलंगाबाट १७ कोष टाढा छ, दुर्गम भेरिखोलाको सर्मी गाउँ । कुल १ सय ७० घरधुरीको सर्मी साबिक ताम्ती गाविसको प्रवेशद्वार पनि हो ।

दैलेखको चौराठा हुँदै जुम्ला पानसय दराबाट भेरिखोलामा बसाइँ सरेर सर्मी गाउँ निर्माण भएको कथन छ । सर्मीमा कस्तुरी, झारल, बाज, च्याखुराजस्ता पशुपक्षी हुने हुँदा सिकारीका लागि उर्वर क्षेत्र मानिन्थ्यो । ४ दशकअघिसम्म पनि भेरिखोलामा बाज, कस्तुरी, झारललगायतका पशु पक्षीको सिकार गरिन्थ्यो । सरकारले बाजको व्यापारमा कर नै तोकेको थियो ।

बाज भारतीय नागरिकलाई बिक्री गरिन्थ्यो, उनीहरूले बाजलाई मोती टिप्ने काममा प्रयोग गर्थे । स्थानीय प्रेम रावलले सुनाए, ‘च्याखुरा खेल्ने ठाउँ, बाजको खेल्ने थलो, कस्तुरी बस्ने भुरिचुला, सुनखानी भएको २२ पाटन भएको भेरिखोला छ भनेर पुर्खालाई सुरुमा सर्मी पठाइयो, सिकारी गाउँको इतिहास बोकेको सर्मी अहिले किसानको गाउँमा परिणत भएको छ,’ सिकारी बसेर गाउँ निर्माण भएको सर्मीमा अहिले किसान मात्रै छन् ।

२०१९ सालमा सरकारले पशुपक्षी संरक्षण ऐन ल्याएपछि सर्मीबासी सिकारीबाट किसान बने । गाउँछेउको घट्टेखोला किसानको सहारा बनेको छ । जुम्लाका गाउँबस्तीमा खडेरिदाग्दा घट्टेखोलाले सर्मी गाउँको जमिन हराभरा छ । सर्मी गाउँमा सिँचाइ, खानेपानी, विद्युत्, पानीघट्टलगायतका आवश्यकता यही खोलाले पूरा गरेको छ ।

‘सरकारले पशुपक्षी संरक्षण ऐन ल्याएपछि सिकारबाट जीविका चलाएका सर्मीबासीको रोजीरोटी खोसियो । सिकारीबाट गाउँले किसान बन्न थाले । अनि किसानको सारथी बन्यो, घट्टेखोला । अहिले यही खोलाले गाउँलाई खानेपानी, बिजुली, सिचाइ, पानीघट्ट दिएको छ,’ स्थानीय दलबहादुर कुँवरले भने । साबिकको ताम्ती गाउँविकास समिति रहेको भेरिखोलामा पहिलोपटक बिजुली सर्मीमा बलेको थियो । अहिले पनि गाउँ झिलिमिली छ । एक घर एक धारा छ ।

जुम्लामा कुल २ सय ३८ गाउँ छन् । प्राकतिक भू–बनोटले कतै सहज र कतै कठिन जीवनशैली छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्