काठमाडौं, वैशाख ८ । उद्यम व्यवसायमा देखिएका शिथिलताको असर बैङ्कहरूको खराब कर्जा र नाफामा प्रतिविम्बित भएको छ ।
सञ्चालनमा रहेका २१ वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको तेस्रो चौमासिक विवरणअनुसार खराब कर्जा ३.०३ प्रतिशतमा पुग्दा बैङ्कहरूलाई नोक्सानीबापतको व्यवस्था (प्रोभिजनिङ)मा उच्च वृद्धि गर्दै नाफालाई औसतमा सीमित गर्नुपर्ने बाध्यतामा पुगेका हुन् । १.२२ प्रतिशतमा रहेको गत वर्षको खराब कर्जा दोब्बरभन्दा धेरै १.८१ प्रतिशत बिन्दुले बढेको छ ।
वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको चैतसम्ममा २१ बैङ्कको खुद नाफा ४८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ जुन गत वर्ष सोही अवधिमा ४३ अर्ब ६१ करोड रुपैयाँ थियो । नाफामा भएको यो वृद्धि ११.६७ प्रतिशत हो ।
प्रोभिजनिङ भने यसपालि ४.४ गुणा (४४० प्रतिशत) वृद्धि भएको छ । गत वर्ष चैतसम्म ७ अर्ब रुपैयाँ मात्र प्रोभिजनिङ गरिएकामा यसपालि नौ महिनामै बैङ्कले ३० अर्ब ८६ करोड रुपैयाँ प्रोभिजनिङ गरेका छन् । जुन गत वर्षभन्दा २३ अर्ब ८६ करोड रुपैयाँले बढी हो ।
नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठका अनुसार अहिलेको अवस्थामा बढेको खराब कर्जा र प्रोभिजनिङको व्यवस्थापन उचित र स्वाभाविक हो । गोरखापत्र दैनिकबाट