Logo

अर्थविद्को चिन्ता– साधन र स्रोतबिना अर्थमन्त्रीले कसरी बजेट बनाउँछन् ?



काठमाडौं, ८ वैशाख । अर्थविद् डा. चन्द्रमणि अधिकारीले आर्थिक क्रियाकलापमा सुस्तता आएकाले राजस्व घटेको बताएका छन् ।

‘राजस्व संकलन आर्थिक गतिविधिमा आधारित हुन्छ । त्यसमा सुस्तता आएको छ । राजस्वको संरचनामा सबैभन्दा बढी हिस्सा ओट्ने मूल्य अभिवृद्धि कर घटेको छ । आन्तरिक उत्पादन, उपभोग र पैठारी कम छ । व्यक्तिगत र संस्थागत आयकर अनि अन्तःशुल्क घटेको छ । बैंकको जोखिमयुक्त ऋण ३ प्रतिशतबाट उकालो लागेको छ । घरजग्गा कारोबारसँगै पुँजीगत लाभकर घटेको छ । पुँजीगत खर्च अत्यन्त न्यून छ । यो अर्थतन्त्रका लागि चिन्ताजनक छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा. अधिकारीले भने ।
१० वर्ष अगाडिको आर्थिक सर्वेक्षणको रोग अहिले पनि उस्तै रहेको उनले औंल्याए । डा. अधिकारीले भने, ‘राजस्व नतिरिएको होइन, तिरिएको छ । ५३ लाख त प्यान नम्बर लिएका संस्था र व्यक्ति छन् । त्यो भनेको कुल जनसंख्याको १६, १७ प्रतिशत हो । भारतमा त्योभन्दा कम छ ।
५० प्रतिशत राजस्व घटेको स्थितिमा अर्थमन्त्रीले कसरी बजेट बनाउने भन्ने चिन्ता पनि डा. अधिकारीले प्रकट गरे । उनले भने, चालु खर्च बढी छ, अनुत्पादक खर्च बढी छ, दिगो र भरपर्दो राजस्व कम छ । राजस्वमा ५० प्रतिशत मात्र उठेको छ । यो गम्भीर विषय हो । साधन र स्रोतको अभावमा अर्थमन्त्रीले केबाट बजेट बनाउनुहुन्छ ?’
उनले राजनीतिक प्रभावमा राखिएका अनावश्यक आयोजनामा पैसा नहाल्न, चालु खर्च घटाउन, मितव्ययी हुन, कृषि, लाइभस्टक, जलविद्युत् लगायत उत्पादनशील क्षेत्र र अत्यावश्यक पूर्वाधारको क्षेत्रलाई प्राथमिकता दिएर चुस्त आकारको बजेट बनाउन पनि अर्थमन्त्रीलाई सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्