दार्चुला, वैशाख ८ । जिल्लाको नौगाडमा मृत भेटिएका किशोर—किशोरीको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । घटना भएको साता बितिसक्दा पनि अझै त्यसको गाँठी कुरो भने खुलेको छैन् ।
गत चैत्र ३० गते नौगाड गाउँपालिका–४ होेपरीका १८ वर्षीय दीपेन्द्र ठगुन्ना र नौगाड—४ डाँडागाउँकी १७ वर्षीय सञ्जिला धामी मृत अवस्थामा फेला परेका थिए । पीडित परिवारले घटनाको सत्य, तथ्य छानविनका लागि प्रहरीमा जाहेरी दिएका छन् ।
नौगाड गाउँपालिका–४ बौला सल्याडनजिक मृत भेटिएका ती युवा युवती प्रेम सम्बन्धमा थिए। सञ्जिलाको शव चोटपटक लागेको अवस्थामा भेटिएको थियो। त्यसकै केही तल भिरमा दीपेन्द्रको शव भेटिएको थियो ।
‘घटना अनुसन्धान जारी छ,अझै मृत्युको कारण खुलेको छैन,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले भने, ‘मृतकका साथी र नजिकका आफन्तहरुसँग सोधपुछ भइरहेको छ ।’
घटनास्थलमा दुई वटा मोबाइल पनि फेला परेका थिए। प्रहरीका अनुसार युवकको मोबाइल फुटेको अवस्थामा थियो । युवतीले प्रयोग गर्ने मोबाइलबाट उनीहरु प्रेम सम्बन्धमा रहेको खुलेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनास्थलमा फेला परेको मोबाइल दीपेन्द्रले साथीसँग मागेर लगेको खुलेको थियो । ‘आफ्नो मोबाइलको चार्ज सकिएकोले मोबाइल मागेको मृतकका साथीले भनेका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘अहिलेसम्म घटनामा अन्यको संलग्नता देखिएको छैन, हामी सोधपुछमै छौँ ।’
घटनास्थलमा भेटिएको मोबाइल मृतक युवक दीपेन्द्रको गाउँकै साथीको रहेको प्रहरीले जनाएको छ । मृतक सञ्जिला दिदीको घर बझाङमा बसेर कक्षा ९ मा पढ्थिन् । कक्षा ९ को परीक्षा सकेर उनी चैत १६ मा घर फर्किएकी थिइन् ।
मृतक दीपेन्द्र दार्चुलामा कक्षा १० मा पढ्थे । एसइई दिएर उनी चैत्र २६ गते घर फर्किएका थिए । प्रेम सम्बन्धमा रहेका उनीहरु बुधबार २९ चैत्रको राति सिप्टीको हुली दागडामा लाग्ने गञ्जामा सँगै थिए । नयाँ वर्ष (बिसु) पूर्वसन्ध्यामा १५ चैत्रदेखि नाचगान गर्ने प्रचलन छ । जसलाई स्थानीय भाषामा गञ्जा भन्छन् ।
मोबाइलसँग सम्बन्धित र घटनाको अघिल्लो राति साथमा रहेका दीपेन्द्रका साथीमाथि प्रहरीले सोधपुछ गरिरहेको छ । घटनाअघि बिहीबार उनीहरुबीच विवाद भएको स्थानीयले देखेका थिए । राजधानी दैनिकबाट