Logo

कम्युनिस्ट पार्टी स्थापना दिवस : कुन दलले कसरी मनाउँदैछन् ?



काठमाडौं, वैशाख ९ । नेपालका कम्युनिष्ट पार्टीहरुले आज ७४ औं स्थापना दिवस मनाउँदै छन् । दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र), नेकपा एमाले लगायतले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)ले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

त्यस्तै, नेकपा एमालेले आज दिउँसो १ बजे तुल्सीलाल स्मृति भवन च्यासलमा कम्युनिष्ट योद्धा सम्मान, पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा स्थानान्तरण लगायतका काम गर्दै छ ।

पार्टीको ७४ औं स्थापना दिवसलाई नेकपा एकीकृत (समाजवादी) पनि विविध कार्यक्रम मनाउँदैछ । समाजवादीको यहि वैशाख ३ गते बसेको सचिवालयको बैठकले कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार समाजवादीले काठमाडौंसहित प्रत्येक प्रदेश र जिल्लामा विभिन्न कार्यक्रम गरी आज स्थापना दिवस मनाउँदैछ ।

जहानियाँ राणा शासनको समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।

नेपालमा कम्युनिष्ट पार्टीहरुले २०४६ को जनआन्दोलनपछि जनतामा बलियो छाप पारेका थिए । २०७४ सालमा नेकपा एमाले र माओवादी मिलेर चुनाव लडेका थिए । लगत्तै पार्टी एकतासमेत भएको थियो । तर एकताको १८ महिनामै सर्वोच्च अदालतले एकता भंग गरिदिएपछि यी दुई दल पुरानै अस्तित्वमा फर्किएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्