Logo

सुदूरपश्चिम सरकारको नेतृत्व आलोपालो हुन्छः भट्ट



काठमाडौं, ९ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्टले भोलिको उपनिर्वाचनपछि प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् ।
‘प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार गर्न छलफल र बहस भइरहेका छन् । कतिपय कुराको टुंगो लगाउन बाँकी छ । दुई-तीन दिनमा समझदारी होला । भोलिको उपनिर्वाचनपछि यसले ठोस आकार लिन्छ । यो भन्दा बढी ढिला गर्नुहुन्न,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै भट्टले भने ।
प्रदेश सरकारलाई विश्वासको मत दिने सबैजसो दल सामेल हुने पनि उनले बताए । भट्टले थपे, ‘अहिलेको गठबन्धनमा हामी तीनचारवटा दल छौं । मन्त्रिपरिषद् कस्तो बनाउने, कुन कुन मन्त्रालय क-कसले पाउने, नीति कार्यक्रम र बजेट कसरी ल्याउने भन्नेबारे टुंगो लाग्न बाँकी छ ।’ संघ सरकारमा सामेल नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारमा पनि सामेल हुने विश्वास उनले व्यक्त गरे ।
प्रदेश सरकारको नेतृत्व आलोपालोमा जाने पनि भट्टले औंल्याए । उनले भने, ‘आलोपालोमा जाने कुरा पनि केन्द्रकै हो । आलोपालोमा सहमति हुन्छ । यसमा कांग्रेसले बाधा अड्चन ल्याउँदैन । मुख्यमन्त्री पनि सकारात्मक नै हुनुहुन्छ ।’ मुख्यमन्त्रीको कार्यकाल कति रहने भन्ने कुरा गठबन्धनका शीर्ष नेताहरु बसेर टुंग्याउने पनि उनले बताए । अब दलहरुले आफ्नै अस्तित्व रक्षाका लागि जनताका माग सम्बोधन गर्नुपर्ने पनि भट्टले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्