काठमाडौं, ९ वैशाख । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउनुपर्ने सर्वोच्च अदालतको आदेश पालना गर्नुपर्ने बताएका छन् ।
‘सम्मानित सर्वोच्च अदालतभन्दा माथि कोही छैन । अदालती निर्णयको अवहेलना गर्न मिल्दैन । काठमाडौं महानगरपालिकाले पनि सर्वोच्च अदालतको आदेश मान्नुपर्ने हुन्छ । हामी अदालतलाई चुनौती दिन सक्दैनौं । हामी तीन दिनभित्रै सिंहदरबारको फोहोर उठाउँछौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै मानन्धरले भने ।
परिवर्तन नेपालका मित्र घिमिरेलाई मेयर बालेन शाहले सिंहदरबारको फोहार नउठाउन धम्की दिएको साँचो हो भन्ने प्रश्नमा प्रवक्ता मानन्धरले भने, ‘त्यस्तो नहोला । विधिको शासनभन्दा बाहिर जानु राम्रो हुँदैन । त्यस्तो हो भने हामीले मेयरसाबलाई सम्झाउनु पर्ला । अदालतको आदेश पालना गर्नु हामी सबैको दायित्व हो ।’
काठमाडौं महानगरले व्यक्तिगत स्वार्थका लागि भन्दा पनि जनताका माग सम्बोधन गर्न अप्रिय कदम चालेको पनि उनले टिप्पणी गरे । मानन्धरले थपे, ‘ककनी र धुनीबेसी गाउँपालिकाका बासिन्दाले १५ दिनभित्र आफ्ना माग पूरा नगरे बन्चरे डाँडा ल्यान्डफिल साइट बन्द गर्छौं भनेर अल्टिमेटम दिएपछि हामीले सरकारलाई दबाब दिएका हौं । सहरी विकास मन्त्रालयले जनताको माग सम्बोधन गरिदिए यस्ता कदम उठाउनु पर्दैन । तीनवटै सरकारबीच सहकार्य आवश्यक छ ।’ व्यवस्थित सहर बनाउने जिम्मेवारी अनुसार नै सुकुम्बासी बस्ती हटाउन लागेको उनले औंल्याए ।
तपाईं र मेयरको कुरा त मिलेनन् नि भन्ने पत्रकार धमलाको प्रश्नमा वडाध्यक्ष समेत रहेका मानन्धरले भने, ‘मेयर भनेको जनताको प्रतिनिधि हो । बालेनले स्वतन्त्रबाट जिते पनि उहाँलाई स्वतन्त्र मेयर भनिँदैन, मेयर नै भनिन्छ । म बालेन शाहको प्रवक्ता होइन, म महानगरको प्रवक्ता हुँ । मलाई राम्रो र नराम्रो कुरा थाहा छ ।’