Logo

जसपाले बुथ लुट्न प्रहरी प्रशासन मिलाएर राखेको सिके राउतको आरोप



काठमाडौं, ९ वैशाख । आम जनता पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले बारा–२ को उपनिर्वाचनमा बुथ कब्जा हुने सम्भावना प्रवल रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत नेपाल–भारत सीमानामा रहेका बुथहरुमा जनता समाजवादी पार्टीका नेता कार्यकताले बुथ लुट्नका लागि प्रहरी प्रशासनसमेत मिलाएको आरोप लगाएका छन् । ती बुथमा गएर सर्वसाधरणले सहज तरिकाले मतदान गर्नसक्ने अवस्था नरहेको पनि उनले उल्लेख गरेका छन् ।

‘खासगरी नेपाल(भारतको सीमानासँगै नजिकै रहेका बूथहरू दिनदहाडै लूटिने गरेका छन्। ती गाउँहरू अहिलेदेखि नै पनि कब्जामा छन्, प्रहरी प्रशासनलाई जसपाका नेताहरूले मिलाएर राखेका छन्, निर्वाचन अधिकारीहरूसँग मिलेर फर्जी मतदानको लागि तम्तयार छन्। त्यहाँ जनता बूथमा गएर स्वतन्त्र ढंगले मतदान गर्न सक्ने अवस्था छैन। ूईच्छाएको व्यक्तिले अरूबाट मतदान गर्न सक्नेछन्ू जस्तो माइन्यूट समेत गराएर सबैको नामबाट जसपाकै नेता कार्यकर्ताले मतदान गर्ने चलन छ। प्रहरी प्रशासनसमेत त्यहाँ निरीह देखिन्छ,’– सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

उनले उक्त बुथहरुमा सेना परिचालन गर्न र पत्रकारहरुलार्य सहज रुपमा निरीक्षण र समाचार सम्प्रेसनको व्यवस्था मिलाउनसमेत सरकारसँग आग्रह गरेका छन् ।

‘नेपाल सरकारले यी ठाउँहरूमा सेना परिचालन गरोस्, र बूथ भित्र पनि सुरक्षामा कडाई गरियोस्। खासगरि पत्रकार बन्धुहरूलाई हेर्न आउनका लागि हार्दिक आमन्त्रण,’– उनले भनेका छन् ।

कुनै असशक्तताको बहानामा अरूको नामबाट भोट खसाल्ने कुरामाथि प्रतिबन्ध लगाउनसमेत उनले उनले कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot