Logo

आयोग : चितवन–२मा ९ बजेपछि, बारा-२ मा ८ बजेपछि र तनहुँ-१ राजनीतिक दलहरूले माने राति १२ बजे भएपनि मतगणना



काठमाडौं, १० बैशाख । निर्वाचन आयोगले आज उपनिर्वाचन भएका क्षेत्रहरुमा आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरेको छ।

आज भएको चितवन-२, बारा-२ र तनहुँ-१मा राजनीतिक दलहरुले माने मतपेटिका आउने बित्तिकै देखि मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको हो।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको र आजबाट मतगणना गरिने बताएका छन्। उनले भने, ‘अब मुचुल्का उठाउने र मतगणना केन्द्रमा मतपेटिका पुर्याउने काम हुँदैछ। त्यसपछि मतगणना सुरू हुन्छ।’

‘चितवन–२ मा पनि मतपेटिका संकलन गर्न केही समय लाग्ने देखिएको छ। राति ९ बजेसम्म मतपेटिका संकलन गरेर मतगणना सुरू गर्नुस् भनेका छौं,’ उनले भने। बारा–२ मा साढे ७ बजेसम्म मतपेटिका संकलन हुने र ८ बजेपछि मतगणना सुरू हुने उनले बताए।

‘तनहुँ–१ गणनास्थलमा मतपेटिका पुर्याउनै १० बज्छ होला, त्यहाँ राजनीतिक दलहरूले मान्नुभयो भने राति १२ बजे भए पनि मतगणना सुरू गर्छौं,’ थपलियाले भने।



प्रतिक्रिया दिनुहोस्