Logo

खालिस्तान समर्थक नेता अमृतपाल सिंह पक्राउ



काठमाडौं, १० बैशाख । खालिस्तान समर्थक नेता अमृतपाल सिंहलाई पक्राउ गरिएको छ। उनलाई पञ्जाबको मोगाबाट आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी गत मार्च १८ देखि फरार थिए। पञ्जाब प्रहरीले सोही दिनदेखि उनी र उनको सङ्गठन ‘वारिस पञ्जाब दे’ विरुद्ध कारबाही शुरु गरेको थियो।

अमृतपाल सिंहलाई राष्ट्रिय सुरक्षा ऐन (एनएसए)अन्तर्गत पक्राउ गरिएको हो। सिंह र उनका सहयोगीहरूमाथि वर्ग विभेद फैलाएको, ज्यान मार्ने प्रयास गरेको, प्रहरीमाथि हमला, सरकारी कर्मचारीका कानुनी काममा बाधा पुर्याएको अभियोगमा फौजदारी मुद्दा चालाइएको थियो।

गत मार्च २८ मा अमृतपाल र उनका सहयोगीहरू पञ्जाबकै होसियारपुरमा रहेको गोप्य जानकारी पाएपछि प्रहरीले खोजी अभियानलाई तीव्र पारेको थियो। पञ्जाब प्रहरीले राज्यका बासिन्दालाई शान्ति सुव्यवस्था र सद्भाव कायम राख्न अपिल गर्दै भ्रामक समाचार नफैलाउन आग्रह गरेको छ। प्रहरी कारबाहीसम्बन्धी विवरणहरू क्रमशः सार्वजनिक गरिने पञ्जाब प्रहरीले सामाजिक सञ्जालमार्फत जनाएको छ।

गुप्तचर निकायहरूका अनुसार अमृतपाल सिंहले पाकिस्तानी गुप्तचर निकाय इन्टर सर्भिसेस इन्टेलिजेन्समार्फत हतिायर ल्याएर पञ्जाबलाई साम्प्रदायिक आधारमा विभाजन गर्न खोजेका छन्। उनले युवावर्गलाई बन्दुक संस्कृतितर्फ डोर्याएको आरोप छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot