Logo

चितवनका सीडीओ आफ्नै पारिवारिक सदस्य रवि लामिछानेलाई जिताउन लागेः कांग्रेस सभापति



काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेस, चितवनका सभापति राजेश्वर खनालले चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पटकपटक निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मूकदर्शक बनेको आरोप लगाएका छन् ।
‘रास्वपाका उम्मेदवारबाट एक पटक होइन, पटकपटक निर्वाचन आचारसंहिता उल्लंघन भयो । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले पटकपटक ध्यानाकर्षण गराउँदा पनि चितवनका प्रमुख जिल्ला अधिकारीले वास्ता गर्नुभएन । प्रशासन संयन्न्र मूकदर्शक भएर बस्यो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै खनालले भने ।
सभापति खनालले प्रजिअ पौडेल रवि लामिछाने गृहमन्त्री भएका बेला चितवन सरुवा भएर आएको पनि बताए । उनले भने, ‘रवि लामिछाने प्रजिअको पारिवारिक सदस्य भएकाले नांगो रुपमा संरक्षण गर्ने काम भयो । उहाँले पदीय मर्यादा राख्नुभएन । एउटा पार्टी र अमूक उम्मेदवारलाई सफलता दिलाउन नांगो रुपमा प्रस्तुत हुनुभयो । पञ्चायती शैलीकै झल्को आयो । चितवन २ मा जम्मा ७५ हजार मत खसेको छ, उहाँका उम्मेदवारले हार्ने अवस्था आयो भने उहाँले ५ हजार थपेर विजयी घोषणा गराउनु होला ।’
मतगणना सुरु हुने वा नहुने आज बिहान ८ बजेको सर्वदलीय बैठक पछि मात्र थाहा हुने पनि खनालले बताए । उनले भने, ‘हाम्रा उम्मेदवार जितनारायण श्रेष्ठले दिएको उजुरीको सुनुवाइ भएको छैन । हिजो राति ८ बजेदेखि ११ बजेसम्म कुर्दा पनि सीडीओ आउनुभएन । अहिले बिहान ८ बजे सर्वदलीय बैठक छ । हामी उहाँसँग कुरा गर्छौं ।’
रास्वपाबाट निर्वाचन आचारसंहिताको धज्जी उडाइएको आरोप पनि खनालले लगाए । उनले थपे, ‘सामाजिक सञ्जालमा अश्लील र निकृष्ट टिकाटिप्पणी गर्ने, श्रद्धाञ्जलि दिने काम रास्वपाबाट भयो । १ सयभन्दा बढी ठाउँमा इनामेल पेन्ट गर्दा पनि कारबाही गरिएन । हाम्रो उम्मेदवारलाई दुइटा गाडीभन्दा बढी नचलाउन थ्रेट गरियो । तर रवि लामिछाने साउथ इन्डियन फिल्मको हिरो जस्तो गरेर १४-१५ वटा गाडी लाइन लगाएर र एक डेढ सयको हुल लिएर मतदान केन्द्रमा घन्टी बजाएर प्रवेश गर्नुभयो । हाम्रा साथीहरुले नियमापत्ति गर्दा कुटपिट भयो । निर्वाचन आचारसंहिताको ठाडै धज्जी उडाइयो ।’
सीडीओ पारिवारिक सदस्यलाई माननीय बनाउन लाग्दा निर्वाचनकै वैधतामाथि प्रश्न उठ्ने अवस्था निम्तिएको पनि उनले बताए । खनालले भने, ‘नेपाली कांग्रेस ८९-९० सिटको पार्टी हो । रास्वपा २० सिटको पार्टी हो । कांग्रेसको हैसियत हजुरबाबु र उसको हैसियत नातिको जस्तो हो । सीडीओले पारिवारिक सदस्यलाई माननीय त बनाउलान् । तर उसले जित्दैमा नयाँ सरकार बन्ने र ढल्ने त होइन नि ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot