Logo

प्रचण्डलाई कृष्ण पहाडीको प्रश्न– राष्ट्रिय उत्सव लोकतन्त्र दिवस हो कि जनयुद्ध दिवस ?



काठमाडौं, ११ वैशाख । नागरिक समाजका अगुवा एवं मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले प्रमुख राजनीतिक दलहरुबाटै विगत १७ वर्षमा लोकतन्त्रको निरन्तर अपमान र अवमूल्यन भइरहेको टिप्पणी गरेका छन् ।
‘देश गलत नेतृत्वको हालतमा गयो । लोकतान्त्रिक मूल्य र मान्यता क्षतविक्षत भएको छ । प्रचण्डले सारथि बनेर एमालेलाई घोडा बनाएर हिंसात्मक कथित जनयुद्ध दिवस मनाउनुभयो, कांग्रेसलाई घोडा बनाएर लोकतन्त्रका सारा मूल्य मान्यता ध्वस्त बनाउनुभयो । प्रचण्डसँग मिलेर कांग्रेस र एमालेले लोकतन्त्रलाई घात गरे । १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौतालाई लात हाने । हिंसालाई क्रान्तिकारी आवरण दिन सकिँदैन,’  नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै पहाडीले भने ।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले प्रश्न गरे, ‘राष्ट्रिय उत्सव लोकतन्त्र दिवस हो कि जनयुद्ध दिवस हो ? जनयुद्ध दिवस मनाउने, लोकतन्त्र दिवस नमनाउने ?’ प्रमुख राजनीतिक दलहरुका कारण लोकतन्त्र खतरामा रहेको पनि उनले औंल्याए । पहाडीले भने, लोकतन्त्र बचाउने हो भने कोरामिनका आवश्यकता छ । सत्तासीन र मठाधीशका कारण लोकतन्त्र खतरामा छ । इतिहासले हामीलाई सराप्नेछ । लोकतन्त्रको विकल्प समुन्नत लोकतान्त्रिक व्यवस्था भएको पनि उनले औंल्याए ।
संक्रमणकालीन न्यायमा संसद्ले जबर्जस्ती गरे पीडित समुदाय, मानवअधिकार समुदाय र अन्तर्राष्ट्रिय समुदायले नमान्ने चेतावनी पनि पहाडीले दिए । उनले भने, ‘२०६३ पछि माओवादीका नेताहरु चारचोटि प्रधानमन्त्री भए । १३ वटा सरकारमध्ये १२ वटामा माओवादी सामेल छ । उसले मुलुकलाई किन निकास दिँदैन ? पीडितलाई घात र पीडकलाई उन्मुक्ति दिने गरी फास्ट ट्रयाकमा विधेयक पारित किन गर्ने ?’ संक्रमणकालीन न्यायमा पुष्पकमल दाहालले छापामार शैली अपनाएको आरोप पनि उनले लगाए ।
प्रचण्डले लोकतन्त्रलाई लुटतन्त्रमा बदलेको आरोप पनि पहाडीले लगाए । उनले भने, ‘मैले प्रचण्डलाई पत्र पनि लेखेको थिएँ, तर उहाँले जवाफ दिन चाहनुभएन । अर्थतन्त्र संकटमा परेका बेला उहाँ ४ हजार अयोग्य लडाकुलाई ८ अर्ब बाँड्ने निर्णय गरेर लुटको धन जंगबहादुरको श्राद्ध गरिरहनुभएको छ । उहाँले लडाकु भनेर ट्रेड युनियनका मजदुर भर्ती गर्नुभएको हो । बाल सैन्यको प्रयोग युद्ध अपराध हो । उहाँले त्यस अपराधमा अझै क्षमायाचना गर्नुभएको छैन । अब अयोग्य लडाकुलाई पोस्न कुन देशले सहयोग गर्छ ?’ प्रचण्डले अनमिनलाई लुकाएका हतियार भारतलाई बेच्ने प्रस्ताव ल्याएको हिसिला यमी र बाबुराम भट्टराईले लेखेको दाबी पनि उनले गरे ।

 



प्रतिक्रिया दिनुहोस्