Logo

प्रधानमन्त्री दाहालको भारत भ्रमण अनिश्चित



काठमाडौं, वैशाख १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण अनिश्चित बनेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणका लागि ग्रिन सिग्नल नदिँदा तत्काल भारत भ्रमण नहुने भएको छ । प्रचण्डले प्रधानमन्त्री बने लगतै आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने बताएका थिए ।

आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै गर्न उनले यसअघि चीनको हेनान प्रान्तमा गत चैत्रमा भएको बोआओ फोरममा भाग लिन गएनन् । नेपालस्थित चिनियाँ दूतावासले बोआओ फोरममा सहभागी हुन ८ फागुन २०७९ मा प्रधानमन्त्री दाहाललाई भ्रमणको औपचारिक निमन्त्रणा दिएको थियो । तर, प्रचण्डले अन्तिम समयमा आएर चीन भ्रममा नजाने सन्देश पठाए ।

बोआओ सम्मेलन एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य बढाउने, विश्वमा एसियाली मुलुकको प्रभुत्व बढाउनेलगायतका उद्देश्य राखी सन् २००१ देखि बोआओ फोरम सुरु भएको हो । फोरमको बैठकमा आर्थिक, सामाजिक र सरकारका विविध पक्षमा छलफल हुने गरेको छ । त्यस्तै फागुनको मध्यमामा कतारमा भएको अतिकम विकसित मुलुक (एलडीसी) को सम्मेलनमा पनि सहभागी भएनन् । योसँगै प्रचण्डले दुईवटा विदेश भ्रमण स्थगन गराए ।

दाहाल प्रधानमन्त्री भएको चार महिना बितिसकेको छ । तर, भारत भ्रमणको औपचारिक निम्तो उनले अझै पाउन सकेका छैनन् । यसअघि वैशाखको अन्तिम साता प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुने भनिए पनि हाल भारतीय विदेशमन्त्री एस जयशंकर विदेश भ्रमणमा छन् । यो साताको तेस्रो साता मात्रै उनी भारत भ्रमण फर्कने कार्यतालिका छ ।

भ्रमणको सबै तयारी मिलाउने जिम्मा पाएका जयशंकर भएका कारण पनि उनी स्वदेश फिर्ता नभएसम्म त्यो सम्भव नदेखिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्