Logo

मधेसमा घन्टीको प्रभाव देखिएन, तेस्रो पनि हुन सकेनः जसपा प्रवक्ता



काठमाडौं, १२ वैशाख । जनता समाजवादी पार्टीका प्रवक्ता मनिषकुमार सुमनले बारा २ मा पार्टी अध्यक्ष उपेन्द्र यादवको जित सुनिश्चित भइसकेको बताएका छन् ।
‘अहिलेसम्मको मतपरिणाममा उहाँ निकटतम प्रतिद्वन्द्वीभन्दा तीन हजारको मतान्तरले अगाडि देखिनुभएको छ । उपेन्द्र यादवजीको जित सुनिश्चित भइसकेको छ । मतगणनाको रुझान हेर्दाभएको हामी सबै ढुक्क नै छौं । यसमा हामीले बारा २ का मतदाताप्रति विशेष धन्यवाद र आभार व्यक्त गर्नुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै सुमनले भने ।
उपनिर्वाचनमा जनमत पार्टीका अध्यक्ष सीके राउतले तुच्छता देखाएको आरोप पनि उनले लगाए । सुमनले थपे, ‘जनमतलाई हामीले संगी पार्टी ठानेका थियौं । हामी पहिले र अहिले एउटै गठबन्धनमा थियौं । मधेस प्रदेशमा एउटै सरकारमा थियौं । तर उन (सीके राउत) को तुच्छता देखाए । निर्वाचन आचारसंहिता विपरीत झुटो प्रचारप्रसार गरे । भाषणमा विषवमन गरे । परम्परावादी पार्टीभन्दा फरक सोच राख्न सकेनन् ।’
पहाडी सहर बजारमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव रहे पनि मधेस प्रदेशमा नभएको उनले बताए । सुमनले भने, ‘तनहुँ र चितवनमा जनताले वैकल्पिक शक्तिलाई रोजेका छन् । तर मैले मधेस प्रदेशमा घन्टीको प्रभाव देखिनँ । जित्न सक्ने ल्याकत देखिएन । पहिलो, दोस्रो र तेस्रो पनि भएन । पहाडमा जनताले आशाको भरमा पत्याइरहेका छन् । परम्परागत पार्टीप्रतिको निराशाका कारण उसले भोट पायो । उसले यसलाई निरन्तरता दिन सक्छ कि सक्दैन ? त्यो ठूलो कुरा हो ।’ पुराना पार्टीहरुले डन्डा खायौं भनेर सधैं ब्याज खाइरहेको आरोप पनि उनले लगाए ।

 



प्रतिक्रिया दिनुहोस्