Logo

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री बन्ने पक्का



बुटवल, वैशाख १३ । लुम्बिनी प्रदेशमा एमालेका लीला गिरीले मुख्यमन्त्रीमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेशप्रमुख शेरचनले मंगलबार साँझ संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयका सचिव प्रल्हाद पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै वैशाख १४ गते बिहीबार ४ बजेभित्र दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा स्पष्ट बहुमत दखिनेगरीसरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । लुम्बिनीमा सरकार गठनका लागि धारा १६८(२) वा १६८(३) अनुसरण गर्ने भन्ने अन्योलता रहेकोमा अदालत र यसअघिका सरकारको नजिरलाई देखाउँदै १६८(२) अनुसार सरकार गठन आह्वान गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८(२) अनुसार नै दुुई वा दुुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेसँगै लुम्बिनीमा गठबन्धन सरकार बन्ने भएको छ । चैत १२ गते नै प्रदेश प्रमुखसमक्ष कांग्रेस, माओवादीसहित ८ दलले ५३ जना सांसदको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई मुुख्यमन्त्री बनाउन दाबी पेस गरिसकेको छ ।

गठबन्धनबाट अब मुुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी मुुख्यमन्त्री बन्ने भएका छन् । लुम्बिनीमा नेकपा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राप्रपा, नागरिक उन्मुक्तिका ४÷४, जसपा, जनमत र लोसपाका ३÷३, स्वतन्त्र २ र राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १÷१ जना सांसद छन् ।

यसअघि प्रदेशसभामा गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै समर्थन गरेका थिएभने विपक्षमा ५३ मत परेको थियो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्