Logo

हिमाल र मन्दिरको प्रतिबिम्ब देखिने बिमको बराह ताल



गलेश्वर, १३ चैत । चारैतिर वनजङ्गल र हरियाली सहितको पहाड । उत्तरतर्फ कृषि प्राविधिक शिक्षालय रहेको चिटिक्क परेको बिम गाउँ । पश्चिम–दक्षिणतर्फ पर्ने ताकम धारापानी र फेदीमा म्याग्दी नदीको नागबेली दृश्य । यही परिधिभित्रको भूगोलमा छ म्याग्दीको मालिका गाउँपालिका–७ बिम बाइन्दाफाँटको बिमराङमा पर्यटकलाई पर्खिरहेको बराह ताल ।

धौलागिरि हिमाल र म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरको प्रतिबिम्ब देखिने यो ताल अपार पर्यटकीय सम्भावनाले युक्त छ । भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको यो ताल परिसरमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक आउन थालेका छन् । यो तालको बनोट, यहाँको भूगोल र यहाँबाट देखिने प्राकृतिक दृश्यले बाह्य पर्यटकको ध्यान खिच्नसक्ने भएकाले बराह ताल बाह्य पर्यटकको पर्खाइमा छ ।

बराह ताललाई धार्मिक र पर्यटकीय गन्तव्यको अनुपमस्थल बनाउन सकिने प्रशस्त सम्भावना रहेका र त्यसका लागि प्रयास सुरु गरिएको गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाले बताए । सो गाउँपालिका सांस्कृतिक मान्यता, जातीय र भौगोलिक विविधता, धार्मिक सहिष्णुता, विकासप्रतिको ऐक्यबद्धता र प्राकृतिक सुन्दरतायुक्त छ । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्रका रुपमा परिचित दरवाङ बजारबाट करिब एक घण्टाको दूरीमा रहेको यो ताललाई धार्मिक र पर्यटकीयस्थल बनाउन पहल सुरु भएको अध्यक्ष गर्बुजाको भनाइ छ ।

बराह ताल धार्मिक र प्रचुर पर्यटकीय महत्वको ताल भए पनि पूर्वाधार निर्माण र प्रचारप्रसारका अभावमा ओझेलमा छ । यो तालमा म्याग्दीकै प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिर र धौलागिरि हिमालको प्रतिबिम्ब देखिन्छ । त्यसका साथै गुर्जा हिमालको मनमोहक दृश्य र सुन्दर ग्रामीण बस्ती, वनजङ्गल, पहाड यहाँबाट देख्न सकिन्छ ।

जैविक विविधताका अनेक सम्पदालाई समेटको बराह ताल प्राकृतिक सुन्दरताका साथै धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिने स्थानीय देउप्रसाद फगामीले बताए। बाइन्दाफाँट गाउँको शिरमा अवस्थित गोलो आकारको बराह ताललाई धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीयले सरोकारवाला निकायसँग माग गरेका छन् ।

आधा रोपनी क्षेत्रफलमा फैलिएको, तीन मिटरभन्दा गहिरो र समुद्री सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा अवस्थित यस तालको माथिल्लोपट्टि बराह थान छ । सोही बराह थानको नजिकै रहेको पानीको मूलबाट ताल बनेको स्थानीयले बताएका छन् ।

यस तालको संरक्षण र प्रचारप्रसार गरी पूर्वाधार निर्माण गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ताल आकर्षणको केन्द्र बन्नसक्ने स्थानीय रामबहादुर पुनको भनाइ छ । यस तालमा रहेको जलबराहको पूजाआजा तथा भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

वडा कार्यालयले गाउँपालिकाको केन्द्र दरवाङदेखि यहाँसम्म पुगेको सडकलाई विस्तार गरेर प्रसिद्ध धार्मिकस्थल मालिकाको धुरीसम्म जोडेको र यसको संरक्षण तथा प्रचारप्रसारका लागि एकीकृत योजना बनाइएको मालिका–७ का वडाअध्यक्ष टकबहादुर पुनले बताए ।

उनका अनुसार तालको चारैतिर ढुङ्गाको आकर्षक पर्खाल निर्माण गरिएको छ । बाइन्दाफाँटमा रहेको बराह तालदेखि मालिकाको धुरीसम्म पुग्ने सडक र पदमार्ग निर्माण गरिएको छ । मोटर बाटोले छोएको भए पनि कठिन भूगोलका कारण बाह्रै महिना गाडी चल्न सक्ने अवस्था थिएन । अहिले बाह्रैै महिना गाडी चल्न सक्ने गरी सडक सुधार गरिनाका साथै पदमार्गसमेत निर्माण गरिएको छ ।

गाउँपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक, पर्यटकीय र अन्य सम्भावना रहेका क्षेत्रको विकास र प्रवद्र्धन गरी ती स्रोतलाई गाउँपालिकाको चिनारी र जनताको आयआर्जनको माध्यम बनाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष गर्बुजाले बताए । स्थानीय देवतासँग नाम जोडिएको र मौलिक पूजा पद्धति रहेको बराह तालप्रति स्थानीयको परम्परागत मान्यता जे भए पनि सो ताल प्राकृतिक र जैविक दृष्टिकोणले उपयुक्त स्थानमा रहनुले यसको महत्व बढेर गएको किसानी प्राविधिक शिक्षालय बिमका प्रमुख करन कँडेलको भनाइ छ ।

सात वडामा समेटिएको उक्त गाउँपालिकाका प्रायः सबै वडामा प्रकृति प्रदत्त अनुपम उपहार छन् । रुमको ढुङ्गाखानी, ओखरबोटको तामाखानी, दरवाङ नजिकै रहेको भालेबास्ने ताल लगायतका अन्य धेरै प्राकृतिक सौन्दर्यले भरिएको सम्पदा यहाँ छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot