Logo

फस्टाउँदै साबुन उद्योग



दाङ, १३ वैशाख । बबई गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको हापुरे बजारमा सञ्चालनमा ल्याइएको साबुन उद्योग फस्टाउँदै गएको छ । यहाँका स्थानीय युवा दयाराम विकले केही समयअघि साबुन उद्योग सञ्चालन गरेका हुन् ।

रोजगारीको सिलसिलामा भारतको एक साबुन उद्योगमा लामो समयसम्म कामगर्ने अवसर पाउनुभएका विकले अहिले आफैले उद्योग सञ्चालन गरी बजारमा साबुन र सर्फ बिक्रीका लागि ल्याउएका छन् । उनले आफूले उत्पादन गरेको साबुनले राम्रो बजार पाएको बताए । विकले केही समयअघि रु एक करोड २५ लाखको लगानीमा दया उजेली साबुन उद्योग सञ्चालनमा ल्याउएका हुन् । उनको उद्योगले लुगा धुने साबुन र सर्फ उत्पादन गरी बजारमा ल्याएको छ । उनले केही समयपछि भाँडा र हात सफा गर्ने झोल उत्पादन गर्ने तयारी गरिएको बताए ।

उत्पादन गरिएको साबुन र सर्पm बिक्रीमा कुनै समस्या नरहेको विकले बताए । साबुन उद्योगबाट उत्पादन भएका साबुन र सर्फ यहाँका बजारमा बिक्री हुने गरेका छन् । एउटा साबुनलाई रु ४० र एक किलोग्रामको सर्फलाई रु एक सय मूल्य निर्धारण गरिएको छ ।

उनको उद्योगले अहिले तीन जनालाई रोजगारी पनि दिएको छ । उद्योगले सुरुवातमा कमाइ राम्रो गरेको र अहिलेसम्म उद्योगमार्फत नमूना उत्पादन भएको भन्दै सञ्चालक विकले भविष्यमा बजार व्यवस्थापन गर्न सकेको अवस्थामा कमाइसँगै कामदार थप्ने अपेक्षा लिएका छन् । साबुन उत्पादनका लागि कच्चा पदार्थ पकाउनका लागि कराइ र थप दुई मेसिन राखिएको छ ।

यस्तै सर्फ उत्पादनका लागि दुई मेसिन जडान गरिएको छ । साबुन उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ भने भारतबाट ल्याउने गरिएको छ । उनले कच्चा पदार्थ ल्याउँदा आफूले सास्ती खेप्नुपरेको अनुभव सुनाए । त्यहाँ उत्पादन गरिएका सामान जिल्लाका अन्य बजारमा पनि बिक्री हुने गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्