Logo

प्रहरी बढुवाबारे सामाजिक सञ्जालमा असन्तुष्टि



काठमाडौं, वैशाख १४ । सरकारले हालै नेपाल प्रहरीमा गरेको बढुवामा असन्तुष्टि जनाउँदै आएका प्रहरी वरिष्ठ उपरीक्षक चक्रबहादुर सिंहले सामाजिक सन्जालमार्फत सरकारविरुद्ध आफ्नो असन्तुष्टि पोखेका छन् ।

ऋाफूसँगैका साथीहरूको बढुवा हुँदा पनि आफ्नो बढुवा नभएपछि लोकसेवा आयोगमा समेत उजुरी गरेका सिंहले कहीँ कतै सुनुवाई नभएपछि सामाजिक सञ्जाल फेसबुकमा तनहुँ १ बाट उपचुनावमा निर्वाचित डा स्वर्णिम वाग्लेलाई बधाई दिँदै लेखेका छन्– ‘देश लुटेराहरूलाई ठूलो धक्का, बधाई छ डाक्टर साप ।’

सिंहभन्दा वरीयतामा पछाडि रहेकाहरूसमेत प्रहरी नायव महानिरीक्षक बढुवा भएकोमा निरास देखिएका सिंहले डीआईजी बढुवाको आधार विभिन्न निकायमा खोजेको भए पनि कुनै पनि निकायले आफूलाई आधारसहितको जानकारी नदिएको भन्दै सामाजिक सञ्जालमा निरासा पोखेका थिए । उनले राजनीतिक नेतृत्वप्रति पनि असन्तुष्टि पोखेका छन्।

नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षकको उमेर हद ५५ वर्ष रहेकाले भोलिबाट उनले प्रहरी सेवाबाट अवकास पाउँदै छन्। २८ वर्ष प्रहरी सेवामा काम गरेका सिंहले सुरक्षा निकायको चेन अफ कमान्डमा नै असर गर्ने गरी व्यक्त गरेको अभिव्यक्तिप्रति प्रहरी प्रधान कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एसएसपी सिंहले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिको बारेमा प्रधान कार्यालयको ध्यानाकर्षण भएको बताएका छन्। नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot