Logo

पार्टीको नेतृत्वमा लोकतान्त्रिक चरित्र छैन : गुरुराज घिमिरे



काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले उपनिर्वाचनको परिणाममा पुराना दलहरुप्रति जनताको वितृष्णा र आक्रोश झल्किएको बताएका छन् ।
‘उपनिर्वाचनले धेरै कुराको संकेत गरेको छ । पुराना दलहरुप्रति जनताको वितृष्णा र आक्रोश स्थानीय तहको निर्वाचनमै पनि देखिएको थियो । हामी निरन्तर क्षयीकरणको बाटोमा छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै घिमिरेले भने ।
राजनीतिको सार्थकता निरपेक्ष सत्ताप्राप्ति नभएको पनि उनले औंल्याए । घिमिरेले थपे, ‘राजनीति भनेको निरपेक्ष सत्ताप्राप्ति होइन । राजनीति भनेको जनताको जीवन बदल्नु हो । समाजसेवा र देशसेवा गर्नु हो । १० वर्षमा जग बस्छ, २० वर्षमा विकास हुन्छ । तर हामीले विगत ३५ वर्षमा स्वाभाविक बाहेक अरु विकास केही पनि गर्न सकेनौं । हामीमाथि पाइला-पाइलामा जनताका प्रश्न उभिएका छन् ।’
प्रमुख राजनीतिक दलहरुको नेतृत्वमा सच्चिने लक्षण नदेखिएको घिमिरेको भनाइ छ । उनले भने, ‘मैले गर्न सकिनँ भन्ने रियालाइजेसन नेतृत्वमा कहिले हुने ? यो लोकतान्त्रिक चरित्र होइन । फुटबल टिममा पटकपटक हार्‍यो भने सुधारका प्रक्रिया अगाडि बढ्छन् । तर हाम्रो राजनीतिमा सुधारको कार्यक्रम पटक्कै छैन ।’ सार्वजनिक खपतका लागि बोलेर मात्र राजनीतिमा सुधार नहुने उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot