महोत्तरी, १४ वैशाख । बजारमा तरकारी बिसाउनासाथ किसान चन्देश्वर राय दनुवारको वरीपरी ग्राहक झुम्मिहालछन् । उनको तरकारी एकैछिनमा बिक्री हुन्छ । तरकारी खेतीमा विषादीको प्रयोग नगर्ने महोत्तरी जिल्लाको भङ्गाहा–४ रामनगरका दनुवारले उत्पादन गरेको तरकारी ग्राहकले खोजीखोजी किन्ने गरेका छन् ।
“तरकारीको भारी बिसाउना बिक्री सुरु भइहाल्छ भने एकैछिनमा सकिन्छ पनि”, उनले भने, “ “मूल्यमा पनि खासै मोलमोलाई हुँदैन, एकैछिनमा तरकारी बिक्री गरी घर फर्किहाल्छु ।”
उनले डेढ दशकअघि तरकारी खेती सुरु गर्दा रासायनिक मल प्रयोग गर्थे । तर त्यो तरकारी आफ्नै भान्सामा पनि प्रयोग हुने र यसले स्वास्थ्यमा असर गर्ने थाहा पाएपछि भने उनले विषादीको प्रयोग छाडेका हुन् ।
“नाकमुख नै छोपेर तरकारीका बोटमा विष छरिन्थ्यो, चिचिलामा लागेका किरा मार्न विष नै प्रयोग हुन्थ्यो” दनुवारले पुराना कुरा सम्झदै भने, “उत्पादित तरकारी त आफ्नै भान्सामा पनि पाक्थ्यो, यसले मलाई झस्कायो, विष खाँदैछौ भन्ने लाग्यो, त्यसपछि प्रयोग छाडेँ ।”
अचेल उनी तरकारीमा गाईबस्तुको गोबर, ढैँचा (कुहाएर कम्पोट मल बनाइने वनष्पति) र मुँग (कोसे दलहन बाली), घर वरपरका फोहर कसिङ्गर खाल्टामा राखेर बनाइएको मल प्रयोग गर्छन् ।
त्यसैगरी किरा नियन्त्रणका लागि खरानीको धुलो, गाईको गहुँत, विभिन्न वनष्पतिका झोल प्रयोग गरिने उनको भनाइ छ । अहिले सघन तरकारी खेती गरिने भङ्गाहाका अतिरिक्त बर्दिबास, गौशाला र औरही नगरपालिकाका किसान विषादी र रासायनिक मलको प्रयोग गर्न छाडिसकेका छन् । उनीहरु प्राङ्गारिक मलको प्रयोग गर्न थालेका छन् ।
तरकारी, तेलहन र उखुलगायतका नगदेबाली लगाउने यी नगर गाउँ बस्तीमा परम्परागत खनजोत र प्राङ्गारिक मलको प्रयोगबाटै प्रशस्त उत्पादन हुन थालेको यस भेगका किसानको भनाइ छ । खासगरी हरियो सागसब्जी र अन्य तरकारी बालीमा विषादीको प्रयोगले आम उपभोक्ताको स्वास्थ्यमा असर पर्ने कुराले सोको प्रयोग छाडिएको भङ्गाहा–४ का तरकारी किसान नारायण दाहालको भनाइ छ ।
प्राङ्गारिक मल बनाउन आफ्नै वरपरका झारपतिङर, त्यतिकै मिल्किएका फोहोर, मल बनाउन नै खेती गरिने ढैंचा र गाइवस्तुको गोबर प्रयोग गर्न सकिने भएकाले यो खेतीका लागि सर्वोत्तम मल हुने किसानको भनाइ छ । यस्तो मलले माटोलाई उर्वर बनाई राख्ने र वर्षैपिच्छे मात्रा केही घटाउँदै लान सकिने हुँदा खेतीमा लागत पनि घट्दै जाने किसानको बुझाइ छ ।
बालीलाई मल चाहिने उपयुक्त बेलामा रासायनिक मलको हाहाकार हुने र तिनको गुणस्तरको समेत यकिन नहुँदा उत्पादनमा प्रतिकुल असर परेपछि आफूहरु परम्परागत आग्र्यानिक खेतीमा लागेको किसानहरुको भनाइ छ ।
तरकारी, फलपूmल र अन्य बालीमा लाग्ने रोगब्याध र किरा नियन्त्रणका लागि गाईको गहुँत, खरानी र पानी छर्कने विधि अप्नाउन थालिएको र यो निक्कै सफल भएको पशुपतिनगर–२ का किसान ब्रह्मदेव महतोले बताए ।
रसायनिक मल र विषादीको प्रयोग छाड्दा पहिलो वर्ष २०७० सालमा उत्पादन अलि कम भए पनि त्यसयता क्रमशः उत्पादन बढ्दै गएपछि अब खासै समस्या नभएको बर्दिबास–४ का किसान रामजी पौडेलको भनाइ छ । पछिल्ला वर्षमा प्राङ्गारिक खेतीबाटै बाली उत्पादन भएको क्षेत्रबारे आम चासो र परिचय बढेपछि उपभोक्ताले बजार पु¥याउनासाथ आफ्नो समान तत्काल किन्ने गरेका पौडेलको अनुभव छ ।
सरकारले प्रदेशहरुमा प्राङ्गारिक मल उत्पादनका कारखाना बनाउन, यस्ता काममा लाग्नेलाई प्रोत्साहन गर्न सके आम रुपमै किसान परम्परागत खेती प्रणालीमा फर्कने भङ्गाहा–५ सीतापुरका पूर्वसहसचिव तथा कृषिविज्ञ कृषिविज्ञ रामबहादुर भुजेलको भनाइ छ ।
प्राङ्गारिक मलको प्रयोगको परिणाम बर्सेनि घटाउँदै लान सकिने हुँदा पहिलो पटक मल किन्दा केही मँहगो परेपनि बिस्तारै अघिल्ला वर्षमा यो खेती कम लागतमा गर्न सकिने भुजेलको भनाइ छ । यो खेती प्रणाली किसानका लागि सजिलो र कम लागतको हुने र उपभोक्ताका लागि स्वस्थ्यकर हुने कुरा बिस्तारै आम किसान र उपभोक्ताले बुझ्दै गएपछि यस्तो खेती बढेको भुजेलको बुझाइ छ । रासस