Logo

नीति अधिवेशन बोलाएर कांग्रेसलाई समयानुकूल बनाउन नेता महरको माग



काठमाडौँ, १४ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल पार्टीको केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गरेका छन् ।

सम्पर्क समितिसँगको छलफलका क्रममा आज यहाँ आयोजित कार्यक्रममा उनले उपनिर्वाचनले देखाएको बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नीति अधिवेशन बोलाएर समीक्षा गर्नुपर्ने बताए ।

प्रत्येक दुई÷दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक सात महिनासम्म बस्न नसक्दा पार्टीमा वैचारिक र साङ्गठनिक गतिविधि शून्य हुन पुगेको नेता महरको भनाइ छ । गत मङ्सिर ४ मा आम निर्वाचन भएर यही वैशाख १० मा उपनिर्वाचन भइसक्दासमेत केन्द्रीय समिति बैठक बस्न नसकेको उनले बताए ।

“पार्टीलाई व्यवस्थित, समयसान्दर्भिक र परिस्कृत बनाउनका लागि पनि चाँडोभन्दा चाँडो नीति अधिवेशन आह्वान गर्नुपर्छ । अब हामी नीति, नेतृत्व र कार्यक्रममाथि केन्द्रित हुनुपर्छ”, नेता महरले भने ।

उपनिर्वाचनको नतिजाले पनि कांग्रेस पूर्णरूपमा परिस्कृत हुनुपर्ने सन्देश दिएको उल्लेख गर्दै उनले नागरिकको भावनानुसार काम गर्न सकेमात्रै मुलुकमा स्थायित्वको राजनीति गर्न सकिने बताए । उपनिर्वाचनको नतिजा मूल धारका राजनीतिक दलभन्दा बाहिर जानु चिन्ताको विषय भएको उनको भनाइ थियो ।

“हामीमा राम्रा कामको जस लिने र गलत काम भए क्षमा माग्दै सच्चिँदै जनभावनाअनुसार अगाडि बढ्ने भावनाको विकास गर्ने परिपाटी बसाउँदै जानुपर्छु”, नेता महरले भने, “पछिल्लो राजनीतिक स्थितिले नीति र नेतृत्वमा बदलाब र गतिशीलता खोजेको सङ्केत दिएको छ । हामी यसका लागि तयार हुनुपर्छ ।” समाज परिवर्तनशील हुने भएकाले राजनीतिक दल पनि सोहीअनुरुप गतिशील हुनसक्नुपर्ने उनको तर्क थियो । रासस/ File photo



प्रतिक्रिया दिनुहोस्