Logo

‘बुद्धधर्मको मर्म विश्वमा फैलाउन बौद्ध शिखर सम्मेलन उपयोगी’



नयाँदिल्ली, १४ वैशाख । बुद्धधर्मको मर्म विश्वमा फैलाउन गत साता नयाँदिल्लीमा सम्पन्न विश्व बौद्ध शिखर सम्मेलन उपयोगी भएको तिब्बती बौद्धधर्मका शिक्षकले बताएका छन् ।

बौद्धगुरु योङ्गे मिङ्ग्युर रिम्पोछेले बुद्ध धर्मको सार संसारमा फैलाउन विश्व बौद्ध शिखर सम्मेलनबाट मद्दत पुगेको बताए ।

एएनआईसँगको कुराकानीमा बौद्धगुरु रिम्पोछेले गत साताको शिखर सम्मेलनबाट बौद्धधर्मको सारलाई विश्वमा फैलाउन योगदान पुगेको बताउँदै सम्मेलनबाट आफूलाई पनि सिक्ने अवसर प्राप्त भएको उल्लेख गरे । बुद्धधर्मको प्रादुर्भाव नेपालबाट भएको तथा यो धर्मको मुख्य सन्देश प्रेम र करुणा भएको उनले बताए ।

“बुद्धधर्मका सन्दर्भमा नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध छ, यो धर्मले दुवै देशलाई एकताबद्ध गरेको छ । हाम्रा निम्ति बुद्धधर्मको जननी नेपाल र जनक भारत हो,” नेपाल र भारतबीचको निकट छिमेक सम्बन्धका साथै धार्मिक सम्बन्धबारे चर्चा गर्दै तिब्बती गुरूले भने । बुद्धधर्मबारे नेपाल र भारतबाट धेरै शिक्षा पाइने बताउँदै उनले नेपालमा जन्मनु भएका बुद्धले भारतका धेरै स्थानमा यसको प्रचार गर्दै धेरै शिष्यलाई ज्ञान दिएको आफ्नो बुझाइ सुनाए ।

संस्कृति मन्त्रालयले आयोजना गरेको उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अतिथि देवो भवः’ बुद्धभूमिको परम्परा भएको तथा बुद्धका आदर्शबाट प्रेरित भएर जीवन बिताएका धेरै व्यक्तिको सम्मेलनमा भएको उपस्थितिले बुद्धको वरिपरि आफू रहेको अनुभूत भएको उल्लेख गरेको थियो । उनले बुद्ध व्यक्तिभन्दा पनि विचार हो भन्ने आफूलाई लागेको बताएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot