Logo

सगरमाथा आधार शिविरमा सरकारी कार्यालय



काठमाडौं, वैशाख १५। पर्यटन विभागले यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहीका क्रियाकलाप निगरानी गर्न सगरमाथा आधार शिविरमै सम्पर्क कार्यालयको स्थापना गरेको छ । विभागले आरोहण दलसँगै आधार शिविर पुगेर आरोहण अवधिभरको निरीक्षण तथा सम्पूर्ण गतिविधि अनुगमन गर्न आधार शिविरमै सम्पर्क कार्यालय खोलेको हो ।

यसअघि खटाइएका सम्पर्क अधिकृतहरू आधार शिविर नै नपुगी घरमै बसेर भत्ता खाने, आरोहीले नक्कली फोटो तथा कागजपत्र तयार पारेर आरोहण पूरा गरेको दाबी गर्ने गरेपछि सम्पर्क कार्यालय नै स्थापना गर्नुपरेको पर्यटन विभागले जनाएको छ ।

विभागका आरोहण शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार वैशाख २५ देखि सुरु हुने अनुमान गरिएको सगरमाथा आरोहणलाई व्यवस्थित गर्न आरोहण अवधिभर सात जना कर्मचारी खटिने गरी सम्पर्क कार्यालय खोलिएको हो ।

उनले भने, “अघिल्ला वर्षमा आधार शिविरमा हुने गरेका गैरकानुनी क्रियाकलाप, आरोही समूहबीच हुने झगडा, आरोहणका क्रममा हुने ट्राफिक जाम, उद्धारमा समस्या र सम्पर्क अधिकृतहरू आधार शिविर नै नपुग्नेलगायतका गुनासा आउने गरेका थिए । तिनलाई निगरानी र नियन्त्रण गर्न सम्पर्क कार्यालय स्थापना गरिएको हो ।”

छ हजार पाँच सय मिटरभन्दा माथिका हिमाल आरोहणमा जाने पर्वतारोहीले एक जना सम्पर्क अधिकारी लैजानुपर्ने कानुनी व्यवस्था छ । यसैबीच विभागका निर्देशक युवराज खतिवडाले चौथो शिविरसम्मको बाटो तयार भइसकेकाले चैत २५ सम्म सगरमाथा आरोहण सुरु हुने बताए ।

अहिले प्रतिकूल मौसमका कारण आइसफल डाक्टरहरूले आराम गरिरहेको र आरोहीहरूले आधार शिविर र दोस्रो शिविरसम्मै अभ्यास गरिरहेको उनले बताए । अहिले ३० भन्दा बढी आरोही समूहका झन्डै तीन सय आरोही सगरमाथा आधार शिविर र दोस्रो आधार शिविरमा आरोहणको पर्खाइमा छन् ।

विभागका अनुसार हालसम्म सगरमाथा आरोहणका लागि नेपालसहित ६५ देशका ४६३ आरोहीले अनुमति लिएका छन् । यो वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि इतिहासकै धेरै आरोहीले अनुमति लिएका छन् ।

यसअघि सबैभन्दा धेरै सन् २०१९ मा ३१५ जनाले आरोहण अनुमति लिएका थिए । त्यस्तै यस सिजनमा आरोहणका लागि खुला गरिएका २४ वटा हिमचुली आरोहणका लागि हालसम्म एक हजार ४६ जनाले अनुमति लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot