Logo

पूर्व लडाकुलाई रकम दिने निर्णयप्रति प्रदीप पौडेलको असन्तुष्टि, भने–’सरकारको अक्षमता देखिन थाल्यो’



काठमाडौं, वैशाख १५ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारका काम–कारबाही अत्यन्तै अपारदर्शी भएको जनाउदै माओवादी लडाकुलाई रकम दिने निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता पौडेलले आर्थिक संकटको समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसक्दा सरकारको अक्षमताका संकेत देखिन थालिसकेको बताएका छन् । अहिले चुलिँदै गएको आर्थिक संकटलाई तत्काल हल गर्दै दीर्घकालीन समाधान खोज्नका लागि सबै सरोकार निकायसँग छलफल र सहकार्य गर्न आवश्यक रहेको उनले औँल्याएका छन् ।

आम जनतामा बढेको निराशा र आक्रोशलाई संवेदनशील भएर गम्भीरताका साथ सम्बोधन गर्न उनले सरकारलाई आग्रह गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्,

गत चैत ८ गते प्रधानमन्त्री स्वयंले अयोग्य लडाकुहरूलाई पैसा दिने निर्णय नभएको विषय सार्वजनिक भएको थियो । तर, संसद्लाई समेत जानकारी नगराई भित्र भित्रै आर्थिक सहायता दिने कार्यविधि बनाइएको सुन्न आएको छ । यसले सरकारको काम कारवाही अत्यन्तै अपारदर्शी भएको र यो आर्थिक संकट को समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको भन्ने प्रष्ट देखाउँछ ।
एकातिर, केही सूचकाङ्कमा मौसमी सहजता देखिए पनि आर्थिक संकट सुधार आइनसकेको विज्ञहरूले बताइरहेका छन् । अर्कोतिर, सरकारले वित्तीय व्यवस्थापन गर्न नसकेको, साधारण खर्च पनि धान्न नसकेर पेन्सन समेत दिन नसकेको विषय सार्वजनिक भइरहेका छन् । यस्तो विषम परिस्थितिमा समेत अनावश्यक निर्णय गर्ने, जनताका आवश्यकता छुट्याउन नसक्ने, र आर्थिक समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउन नसक्नुले सरकारको अक्षमताका संकेत देखाउन थालिसकेको छ ।
त्यसैले, अहिले चुलिँदै गएको आर्थिक संकटलाई तत्काल हल गर्दै दीर्घकालीन समाधान खोज्नका लागि सबै सरोकार निकायसँग व्यापक छलफल र सहकार्य गर्न आवश्यक छ । आम जनतामा बढेको निराशा र आक्रोशलाई संवेदनशील भएर गम्भीरताका साथ सम्बोधन गर्न सरकारलाई आग्रह गर्न चाहन्छु ।
जय नेपाल !

 



प्रतिक्रिया दिनुहोस्