Logo

तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा



काठमाडौं,१५ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेशसभा बाट तेस्रो पटक विश्वासको मत लिने भएका छन् ।

दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने कार्यसूची छ। मुख्यमन्त्री शर्मालाई नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले विश्वासको मत दिने तयारी छ ।

कूल ४० सदस्य प्रदेश सभामा सबै भन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना,नेकपा माओवादी केन्द्रका १३ जना र एकीकृत समाजवादीका १ जना गरी २८ जनाले विश्वासको मत दिनेछन् ।

जुम्लाबाट स्वतन्त्र निवाचित सांसद देवेन्द्रबहादुर शाहीले पनि प्रदेश सरकारलाई विश्ववासको मत दिने बुझिएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शर्माले पुस २७ गते गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। त्यतिबेला शर्मा नेकपा एमाले,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मु्ख्यमन्त्रीमा नियुक्त भएका थिए।

उनले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए। तर राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले चैत्र १७ गते दोस्रो पटक विश्वासको मत लिएका थिए।

दोस्रो पटक विश्वासको मत लिँदा शर्मालाई राप्रपाबाहेक कांग्रेस,नेकपा एमालेलगायत दलको समर्थन थियो तर एमालेले समर्थन फिर्ता लिएपछि शर्माले फेरी विश्वासको मत लिन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot