काठमाडौं, १५ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न भनेर चूनौति दिएको भोलिपल्टै शाहको सम्वादको सचिवालयले आफ्नो धारणा बाहिर ल्याएको छ । ओलीले पूर्वराजासँग पुरानो हिसाब किताब धेरै रहेको तर आफूहरुले नगरेर त्यसै छाडेको भन्दै कटाक्ष गरेका थिए । झापामा आफूमाथि आक्रमण प्रयास हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको ओलीको दाबी थियो ।
इलाममा हिजो (बिहीबार) आयोजित कार्यक्रममा ओलीले आक्रोश पोख्दै भनेका थिए,‘ज्ञानेन्द्र शाह उसको परिवार । उनको बुहारी जान्ने भएर जनताले ढुंगा होनेको देखिन् । ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हान्यो रे । मैले यसको जवाफ दिनु नपरोस् बर्ता फरफुर नगर । बर्ता फुरफुर गने होइन । हामीले हिसाब कितान नगरेरै छाडेका छौँ । हाम्रा मान्छे गोली हानेर मार्दा छाडेका छौँ । अनेक हिसाबकिताव गरेका छौनौँ । हिसाव किताब गर्न सुरु गर्न नपरोस् । छोराबुहारी अगाडि सारेर फुरफुर नगर !’
यता, पूर्वराजा शाहको सम्वाद सचिवालयले भने आज सूचना नै जारी गरेको छ । सूचनामा भनिएको छ–‘श्री ५ महाराजाधिराज सरकार, श्री ५ बडामहारानी सरकार तथा श्री ५ युवराज्ञी सरकारबाट कुनैपनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा पुनः जानकारी गराईन्छ । यस्तो निाराधार कपोकल्पित भ्रमजालबाट मुक्त रहन सबैमा आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन अनुरोध गरिन्छ । यस सम्बन्धमा यस सचिबालयबाट मिति २०७८।०।२३ मा समेत खण्डन भइसकेको जानकारी गराईन्छ । मिति २०८० साल बैशाख १५ गते ।’