Logo

कोइरी विरामी होइनन्, फरार अभियुक्त हुन्– रवि लामिछाने



काठमाडौं, १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले एमाले सांसद लक्ष्मी महतो कोइरी विरामी नभएर फरार अभियुक्त भएको बताएका छन् ।

आफू गृहमन्त्री बन्दा सबैभन्दा पेचिलो र आलोचना सहेको विषय भन्दै उनले कोइरीलाई विरामी भनेर संसद्को गरिमामाथि मजाक नगर्न उनले आग्रह गरेका हुन् ।

‘यो विषय मेरा लागि अत्यन्त पेचिलो विषय हो । किन कि यसै विषयलाई लिएर धेरै आलोचना खेपेको छु । म गृहमन्त्री भएको बेला उहाँ विरामी परेको होइन, फरार अभियुक्तको रुपमा हामीले खोजी गरेका थियौं । उहाँ फरार अभियुक्त हो । उहाँ भाग्नु भएको अभियुक्त हो,’– लामिछानेले भने ।

अहिले नयाँ पुस्ता पनि राजनीतिमा आएको भन्दै उनले राजनीतिको नाममा लाजनीति नगर्न पनि सदन समक्ष आग्रह गरे । अन्य विरामी सांसदहरु प्रति आफ्नो सद्भाव रहेको बताउँदै उनले आफ्नो कामना फरार अभियुक्तमा नजाओस् भन्ने चाहेको पनि बताए ।

‘यो गरिमामय संसद्ले फरार अभियुक्तलाई विरामी भनेर करार गर्ने हो भने लोकतन्त्रका लागि यो भन्दा ठूलो मजाक केही पनि हुँदैन । यो हाँस्यास्पद श्रृङ्खला बन्द गर्नुपर्छ । अब नयाँ पुस्ताका राजनीतिज्ञ पनि सदनमा आएका छन् । अब राजनीतिको नाममा लाजनीति नचलोस् । अन्य विरामी साथीहरुप्रति हाम्रो सद्भाव छ । उहाँहरु प्रति हामीले शीघ्र स्वास्थ्य लाभको कामना गरिरहँदा हाम्रो कामना फरार अभियुक्तमाथि नजाओस्,’– उनले भने ।

साथै, कोइरीलाई भारतीय प्रहरीले पक्राउ गरेको भिडियो पनि आफूसँग सुरक्षित रहेको लामिछानेले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot