Logo

अरूण तेस्रो जलविद्युत आयोजनाबाट कम्तिमा ५० मेगावाटको मुनाफा त्यहाँका जनतालाई सुनिश्चित् गरिदिनुपर्दथ्यो : दीपक खड्का



काठमाडौं, २ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद दीपक खड्काले अहिलेको बजेट देशको परिस्थितिअनुकुल नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद खड्काले यस्तो बताएका हुन् ।

उनले भने,‘अहिले जसरी बजेट विनियोजन भएको छ, भनौं भनेपनि अप्ठ्यारो कुरा, नभनौं भने देशको परिस्थितिअनुकुल छैन् । हामीले अर्थतन्त्र बलियो बनाउने भन्यौं, अहिले के देखिन्छ भने साँढे तीन खर्बभन्दा बढि ऋण हामी बैंकसँग उठाउँदैछौं । अब बैंकहरुले लगानी गर्न नसक्ने स्थिति हुन्छ । अब बैंकलाई पनि सन्चो भयो । साँढे तीन खर्ब मुलुकलाई दिन पाएपछि रिस्कपनि भएन । सस्तै भएपनि वा थोरै भएपनि ब्याज आईरहने भयो । अन्त लगानी गर्न नपर्ने भयो । यसरी तपाईंले उठाउन खोजेको राजश्वको लक्ष्य कसरी परिपूर्ति हुन्छ ?’

सांसद खड्काले अप्पर अरुण (११ सय मेगावाट) को विद्युत उत्पादन भैरहेको उल्लेख गर्दै भने,‘संखुवासभामा ४१ हजार घरधुरी छन् । पाँच पाँच लाखको दरले दियो भने पनि २० अर्ब पैसा ईक्विटीको रुपमा त्यहाँ लगानी गरिदिउँ । सस्तो ब्याजमा, त्यसै दिनुपर्छ भनिएको छैन् । साँढे तीन खर्ब तपाईंले बैंकबाट उठाउँदै गर्दा त्यही पैसा २० अर्ब संखुवासभाको जनताका निम्ति ऋण लगानी गरिदिएको भए तपाईंको के जान्थ्यो ? यो देशभरिको लागि एउटा उदाहरणीय विषय बन्थ्यो । अनि पो आर्थिक क्रान्ति हुन्थ्यो होला । यस्ता ठूला ठूला आयोजना विभिन्न जिल्लामा छन् । ती आयोजनाहरु क्रामगत ढंगले विस्तारै बलियो बनाउँदै लैजान सकिन्थ्यो होला नि । खोई, त्यतापटि ध्यान गएको ?’

अरुण तेस्रो आयोजना पनि संखुवासभामा रहेको र सम्पन्न हुने चरणमा रहेको उल्लेख गर्दै खड्काले ९०० मेगावाट उत्पादन हुने उक्त आयोजनाबाट सरकारलाई २ सय मेगावाट दिँदै गर्दा सरकारले संखुवासभावासीलाई के दिने ? भन्दै प्रश्न गरे । उनले स्थानीय तहले २५ प्रतिशत पाउने अधिकारअन्तर्गत रहेर ५० मेगावाटको आम्दानी संखुवासभावासीले पाउनुपर्ने सुनिश्चित् गरिदिनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्