Logo

एमाले सचेतक भन्छन्– रवि लामिछानेलाई सरम छैन ?



काठमाडौं, १६ वैशाख । प्रतिनिधिसभामा नेकपा एमालेको संसदीय दलका सचेतक महेश बर्तौलाले सरकारले बिजिनेस दिन नसकेकाले सदनको अधिवेशन प्रभावकारी हुन नसकेको बताएका छन् । संविधान र कानुनसँग जोडिएका संघीय निजामती, नागरिकता विधेयक, संघीय प्रहरी, शिक्षा विधेयक सरकारले ल्याउन नसकेको आरोप पनि उनले लगाए ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको ध्यान राज्यकोषको दोहनमा भएको आरोप पनि उनले लगाए । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै बर्तौलाले भने, ‘सरकारको ध्यान कता छ ? कुनै पनि कुरामा जिम्मेवार छैन । देशको अर्थतन्त्र संकटपूर्ण भइरहेको बेला रोजगारीको योजना छैन । कार्यकर्ता पाल्नका लागि दुई–दुई लाख दिने भनिएको छ । बरु शिक्षा, रोजगारी र स्वास्थ्यमा सहयोग गरे हुन्छ । राज्यकोषको दोहन गर्ने निर्णय अविलम्ब खारेज गर्नुपर्छ । सरकार त्यसतर्फ अघि बढ्यो भने ठूलो मूल्य चुकाउनुपर्नेछ ।’
एमाले सांसद लक्ष्मी कोइरीबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्टन्ट गरेको आरोप पनि उनले लगाए । कोइरीले भने, ‘कोइरी कुन ठाउँमा हुनहुन्छ, थाहा छ भने प्रहरीलाई खबर किन नदिएको ? रवि लामिछानेलाई सरम छैन ? एउटा जिम्मेवार सांसदले सधैंभरि स्टन्टबाजी गर्ने ? उहाँ गृहमन्त्री हुँदा किन समाउनुभएन ? अहिले पनि उहाँको पार्टी सत्तापक्षमै छ त ।’
एमाले कोइरीलाई बचाउन नलागेको पनि उनको दाबी छ । बर्तौलाले भने, ‘संसदको नियमावली बमोजिम १० पटकसम्म बैठक आउन नसक्दा सभामुखलाई सूचना गर्नुपर्छ । कोइरीले बिरामी भएको जनाउनुभएको छ । हामी विधिको शासनका पक्षमा छौं ।’ अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिए पनि कोइरी फरार रहेको सूचना सरकारले संसद् सचिवालयमा पत्र दर्ता गर्नेबित्तिकै सांसद पद निलम्बन हुने उनले औंल्याए । बर्तौलाले भने, ‘कि समाएका छौं भन्नुपर्यो कि फरार छन् भन्नुपर्यो । फौजदारी अभियोग लगाएको व्यक्तिलाई हामी बचाउने पक्षमा छैनौं । तर रीत अंग पुर्याउने काम हाम्रो होइन । निलम्बन गर्दा हाम्रा तर्फबाट भोलि विरोध भयो भने तपाईंले नै भन्नु होला ।’



प्रतिक्रिया दिनुहोस्