Logo

मिथिला यात्री निवासमा ‘जनकपुरधाम साँस्कृतिक महोत्सव’ आयोजना (फोटोफिचर)



काठमाडौं, १६ बैशाख । भारतीय राजदूतावास, काठमाडौंको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले भारतीय महावाणिज्य दूतावास, वीरगन्जसँगको सहकार्यमा हिजो (शुक्रबार) जनकपुरस्थित मिथिला यात्री निवासमा ‘जनकपुरधाम साँस्कृतिक महोत्सव’ को आयोजना गरेको छ ।

महोत्सवको मुख्य आकर्षण मैथिली फुड फेस्टिभल र लोक साँस्कृतिक कार्यक्रम थियो । मैथिली फुड फेस्टिभलमा ८४ प्रकारका परम्परागत मैथिली परिकार राखिएको थियो । अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउन कोदोबाट बनेका स्थानीय परिकार कार्यकमको विशेष आकर्षणको रूपमा रहेको थियो ।

सोही दिन साँझ लोक–साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको नेपालस्थित् भारतीय दूतावासले जनाएको छ । सो कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा कलाकारहरुले भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न भजन, राग र भरतनाट्यम नृत्य प्रस्तुत गरेका थिए भने मिथिला नाट्य कला परिषद (मिनाप) का कलाकारहरुले मैथिली लोक गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

दुवै कार्यक्रमको उद्घाटन मधेस प्रदेशका गभर्नर हरिशंकर मिश्रले गरेका हुन् । जारी ‘आजादीका अमृत महोत्सव’ अन्तर्गतको एक कार्यक्रमको रूपमा र सीता नवमीको अवसर पारेर उक्त महोत्सवको आयोजना गरिएको दूतावासले जनाएको छ । कार्यक्रममा मधेस प्रदेशका प्रदेश सभा सदस्य, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी, विशिष्ट व्यक्तित्व र सञ्चारकर्मीहरुको सहभागिता थियो ।

दुई देशका समान कला, संस्कृति, चाडपर्व र परम्परालाई झल्काउने भारत र नेपालको साझा सांस्कृतिक सम्पदालाई जनकपुरधाम साँस्कृतिक महोत्सवले कार्यक्रममा प्रस्तुत गरी धुमधामका साथ मनाएको दूतावासको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्