काठमाडौं, वैशाख १६। चालु आर्थिक वर्षको चैत महीनामा मात्र सरकारले करीब साढे ३३ अर्ब रूपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महीनामा पुँजीगततर्फ रू १ करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’ अनुसार रू ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार बराबर रकमान्तर भएको हो ।
यो अवधिमा अर्थ मन्त्रालयले रू २७ अर्ब बराबर आन्तरिक ऋण तिर्नका लागि रकमान्तर गरेको छ । यो रकम अर्थ विविध शीर्षकबाट निकासा दिइएको छ । त्यस्तै अर्थ विविध शीर्षकबाटै गण्डकी प्रदेश प्रमुखको कार्यालयको चालु खर्चका लागि रू २८ लाख ४३ हजार बराबर थप निकासा दिइएको छ ।
संघीय संसद् सचिवालका कर्मचारी, सुरक्षाकर्मी र पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीका लागि अतिरिक्त समय भत्ताका रूपमा ५० लाख निकासा दिइएको छ । लोकसेवा आयोगलाई रू ४ करोड ३३ लाख, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका लागि रू ६ करोडका बराबर निकासा दिइएको छ ।
चैत महीनामा दुई ओटा योजना तथा कार्यक्रमका लागि बहुवर्षीय ठेक्काको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत ललितपुरको गोदावरीमा राष्ट्रिय ‘हरवोरियम’ भवन निर्माणका लागि रू ४० करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सामाखुसी९टोखा९गुज्रे सडक आयोजनाका लागि रू ७ करोड ६२ लाख बराबर स्रोत सहमति दिइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकी जलविद्युत् आयोजनाको रू १९ करोड रकमान्तर गरेर नदी नियन्त्रण आयोजनाका लागि दिएको छ । त्यसैगरी पालुङटार-कुण्डुटार सिँचाइ आयोजनाको रू ३ करोड ६४ लाख र सिँचाइ पुनःस्थापना आयोजनाको रू ३ करोड ९० लाख बराबर रकमान्तर गरेर नदी नियन्त्रण आयोजनाका लागि दिइएको छ ।
बूढीगण्डकी जलविद्युत् आयोजनाको रू २१ करोड रकमान्तर गरेर बृहत् सरकारी सिँचाइ योजनाको पुनःस्थापना तथा व्यवस्थापन कार्यक्रमका लागि र रू २५ करोड रकमान्तर गरी सुनसरी–मोरङ आयोजनालाई दिइएको छ । बूढीगण्डकीकै रू २० करोड समृद्ध तराई९मधेश सिँचाइ विशेष कार्यक्रमका लागि र रू ६ करोड भूमिगत स्यालो ट्युबवेल कार्यक्रमका लागि दिइएको छ ।आजको आर्थिक अभियान दैनिकबाट