Logo

जनताले गठबन्धनको विकल्प खोजेका छन् : एमाले सचिव



काठमाडौं, १७ वैशाख । नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले जनताको चुलो निभ्न लागेका बेला अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय गलत भएको बताएकी छन् ।
‘गठबन्धन सरकार काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जसरी हिँडिरहेको छ । आज मुलुकका सामु विकराल चुनौती छन् । अर्थतन्त्र तहसनहस छ । जनताको चुलो निभ्न लागेका बेला अनुचित ढंगले आफ्ना कार्यकर्ता छानीछानी पैसा खुवाउन मिल्छ ? यस्ता कुराले सरकारलाई नै राम्रो गर्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै अर्यालले भनिन् ।
शान्ति प्रक्रिया टुंग्याउन एमाले गम्भीर रहेको दाबी पनि उनले गरिन् । अर्यालले भनिन्, ‘हिजो रोल्पा, रुकुम, डोल्पा पुगेर माओवादीलाई कठालो समातेर कुर्सी राख्ने एमाले हो । शान्ति प्रक्रिया भाँडिन खोज्दा सरकार र माओवादी दुवैलाई सम्हाल्ने पनि एमाले नै हो । अहिले ढोंगी कुरा गरेर हुन्छ ?’ टीआरसी विधेयकमा भएका गलत कुरालाई हटाउन पनि एमाले लागेको उनको जिकिर छ ।
हालै सम्पन्न उपनिर्वाचनमा जनताले गठबन्धनको विकल्प खोजेको पनि अर्यालले बताइन् । उनले भनिन्, ‘उपचुनाव भनेको सरकार बनाउने चुनाव होइन । आकार प्रकार फेर्ने चुनाव पनि होइन । तीनवटै क्षेत्र नेकपा एमालेले जितेर खाली भएका पनि होइनन् । तैपनि हामी चुनावी प्रतिस्पर्धामा गयौं । एमाले एक्लै चुनावमा गइरहँदा जिताउन सकिँदैन कि भनेर जनताले गठबन्धनको विकल्प खोजेका हुन् । हाम्रा साथीहरुले तेस्रो शक्तिलाई भोट हाले भन्दैमा अतिरञ्जित प्रचार गर्नु पर्दैन ।’

 



प्रतिक्रिया दिनुहोस्