Logo

महावीर पुनले आविष्कार केन्द्रका लागि बजेट माग्नु जायज होः सांसद घिमिरे



काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले माओवादीका अयोग्य लडाकुलाई २ लाख दिने निर्णयमा आफ्नो पार्टीको संलग्नता नभएको जिकिर गरेका छन् ।
‘माओवादीका अयोग्य लडाकुलाई २ लाख दिने निर्णयमा हामी सहमत छैनौं । यो निर्णय विष्णु पौडेल अर्थमन्त्री हँुदा नै भएको र अदालतले राहत रोक्न आवश्यक देखिएन भनेपछि अहिले गृहमन्त्रालयले कार्यविधि ल्याएको रहेछ । हाम्रा तर्फबाट संसदमा विरोध गरिसकिएको छ । अर्थमन्त्रीले पनि यसबारे स्पष्ट पारिसक्नुभएको छ । यसमा कांग्रेसको संलग्नता छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने । घिमिरेले शान्ति प्रक्रियासँग सम्बन्धित कुरा सत्य निरुपण तथा मेलमिलाप आयोगबाटै टुंग्याउनुपर्नेमा जोड दिए ।
उनले महावीर पुनले आविष्कार केन्द्रका लागि बजेट माग्नु जायज भएको औंल्याए । घिमिरेले थपे, ‘देशको अर्थतन्त्र राम्रो छैन । उहाँलाई कति रकम दिन सकिन्छ, स्थिति हेरेर दिनुपर्छ । अध्ययन, अनुसन्धान र अन्वेषणका लागि बजेट दिने कुरामा मेरो पूर्ण सहमति छ ।’
अर्थतन्त्र संकटमा रहेका बेला सांसदहरुले तलब भत्ता नलिने बेला भएन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘अहिलेको अवस्थामा सांसद भनेको निरीह प्राणी हो । तलब भत्ता नलिँदा श्याम घिमिरेजस्तो सांसदलाई फरक नपर्ला, काठमाडौंमा बस्न नसक्ने सांसदलाई के गर्ने ? अहिले सांसदहरु अत्यन्त कठिन अवस्थामा बाँचेका छन् । जो वास्तविक रुपमा देश लुटिरहेको छ, अबको प्रहार त्यहाँ गरौं न ।’ नेपाली कांग्रेसले बाँकी मन्त्रालयमा मन्त्री कहिले पठाउँछ भन्ने प्रश्नमा उनले भने, ‘जसले पठाउने हो, उहाँलाई नै सोध्नुस् । मलाई थाहा छैन ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot