Logo

बड्डीज्यावनमा चार महिनादेखि खानेपानी समस्या



बझाङ, १७ वैशाख । बझाङको बुङ्गल नगरपालिका–६ स्थित बड्डीज्यावनवासीले चार महिनादेखि खानेपानी समस्या भोग्दै आएका छन् । ‘सोलार लिफ्टिङ’ प्रविधिबाट निर्माण गरिएको खानेपानी आयोजनाको सौर्य ऊर्जामा समस्या आएपछि गत माघदेखि गाउँमा खानेपानी समस्या भएको हो । सौर्य ऊर्जा बिग्रिएर धारामा पानि आउन बन्द भएपछि स्थानीय आउँदाजाँदा एक घन्टा पैदल हिँडेर वेउर भन्ने ठाउँको पानी बोकेर पिउन बाध्य भएका छन् ।

घाम लागेकै दिनमात्र धारामा पानी आउने र धेरैजसो बिग्रिरहने समस्याले हैरान भएको स्थानीयवासीले जनाएका छन् । सोलार लिफ्टिङ प्रविधिबारे ज्ञान नहुँदा सामान्य बिग्रिए पनि आफूहरूले खानेपानीबाट बञ्चित हुनुपरेको स्थानीय हर्कबहादुर बोहराले बताए ।

बड्डीज्यावनकी स्थानीय कलसी धामीले भने, “पाँच–छ परिवारका लागि एउटा धारा निर्माण गरिएको छ तर गाउँमा सबै धारा रित्ता छन्, पानी आउँदैन । पानीको निकै अभाव छ । गाउँका २५ घरधुरीले चार महिनादेखि खानेपानीको अभाव झेल्नुपरेको छ । सरसफाइको कुरै छाडौँ खानेपानी पनि बोकेर ल्याउनुपर्ने बाध्यता छ ।”

खानेपानीको अभाव भएदेखि विद्यालयमा विद्यार्थीको उपस्थिति पनि न्यून हुने गरेको महादेव आधारभूत विद्यालयका प्रधानाध्यापक मानबहादुर बोहराले बताए । उनले भने, “स्कुले केटाकेटी पानी ल्याउन जान्छन् । पानी बोक्दाबोक्दै स्कुलको घन्टी बज्छ । घण्टी लागेपछि विद्यार्थी स्कुल आउँदैनन् ।” बड्डीज्यावन सोलार लिफ्टिङ खानेपानी योजना विसं २०७७ मा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा सम्पन्न भएको थियो । तीन किलोवाट क्षमताको सौर्य ऊर्जाबाट एक हजार पाँच सय मिटर तलको खोलाबाट लिफ्टिङ गरी गाउँमा खानेपानी पु¥याइएको थियो ।

लिफ्टिङ खानेपानी बिग्रिँदा पनि परियोजनाले नै मर्मतका लागि सहयोग गर्ने गरेको थियो । तर गत असारबाटै जिल्लामा परियोजनाको कार्यावधि सकिएर अब आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै काम गर्न छाडेपछि समस्या भएको स्थानीयले बताएका छन् । बड्डीज्यावन सोलार लिफ्टिङ खानेपानी परियोजनाका अध्यक्ष कल्यान धामीले जिल्लाभित्र लिफ्ट प्रविधिसम्बन्धी ज्ञान भएको दक्ष प्राविधिक नभएपछि दक्ष प्राविधिक काठमाडौँबाट ल्याउनुपर्ने र आफूहरूसँग आर्थिक स्रोत नभएका कारण काठमाडौँबाट प्राविधिक ल्याउन नसकिएको बताए ।

यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराएको भए पनि चार महिनासम्म कुनै निकायले पनि चासो नदेखाएको स्थानीयको गुनासो छ । सोलार लिफ्टिङबाट सञ्चालन भएको उक्त खानेपानीको सौर्य ऊर्जामा यसअघि गत असारमा पनि चट्याङले क्षति पु¥याएपछि बन्द भएको थियो । पछि खानेपानी कार्यालय बझाङको सहयोगमा मर्मत भएको थियो । यस बुङ्गल नगरपालिकाका प्रमुख जयबहादुर धामीले खानेपानी परियोजना मर्मतका लागि पहल भइरहेको जानकारी दिए । उनले त्यहाँका स्थानीयलाई खानेपानीको समस्याबाट मुक्त गर्न आफूले सक्दो प्रयास गर्ने बताए ।

पानी ल्याउनुपर्ने ठाउँमा मन्दिर हुँदा महिनावारी भएका महिलालाई समस्या भएको छ । पानी ल्याउने ठाउँ नजिकै वेउर देवताको मन्दिर भएकाले महिनावारी भएको बेला महिलालाई पानी ल्याउन समस्या हुने गरेको स्थानीय नन्ता बोहराले बताए ।

उनले भने, “देवताको मन्दिर परिसरभित्रबाट पानी ल्याउनुपर्ने भएकाले महिनावारी भएका बेला हामीले जान हुँदैन । कहिलेकाहीँ पानी बोक्दाबोक्दै छोराछोरीको स्कुल पनि छुट्छ । गाउँमा पुरुष जति कमाइका लागि घर बाहिर जाने भएकाले अधिकांश घरपरिवारमा महिलामात्रै हुन्छन् ।” महिनावारी भएको बेला पानी ल्याउन गएमा देवता रिसाउने डरले पानी नभरेर नै फर्कने गरेको उनको भनाइ छ । नगरपालिकाले सौर्य प्रविधि मर्मतको प्रयास गरेको भए पनि जिल्लामा दक्ष प्राविधिक नहुँदा समस्या भएको जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्