काठमाडौँ, १७ वैशाख । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जाने क्रममा नेपाल प्रहरी पहरा गण सामाखुसीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली तथा आरोहण दलले छ हजार एक सय १९ मिटर उचाइको सोलुखुम्बुको लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।
सन् १९२३ मा स्थापना भएको इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने योजनाअन्तर्गत इन्टरपोलको एक सयौँ सदस्य राष्ट्र नेपालका तर्फबाट सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झन्डा फहराउन उनी आरोहणमा संलग्न छन् ।
उनलाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले गत चैत ३० गते नेपाल प्रहरी प्रधान कार्यालयबाट राष्ट्रिय झन्डा, नेपाल प्रहरीको झन्डा, इन्टरपोलको झन्डा एवम् आरोहणमा प्रयोग हुने सामग्री हस्तान्तरण गरी बिदाइ गरेको थियो ।
नेपाल प्रहरीमा हिमाली शाखा स्थापना भई प्रहरी कर्मचारी र नेपाल प्रहरी परिवार सङ्घका पदाधिकारीले समेत विभिन्न हिमाल सफलतापूर्वक आरोहण गर्नाका साथै सगरमाथा सफाइ अभियानमा सहभागी भएको र विभिन्न आरोहण दलमा सम्पर्क अधिकृतका रुपमा भूमिकासमेत निर्वाह गरिसकेको छ ।
आरोहणमार्फत कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिने र कानुन कार्यान्वयनमा नेपालको पूर्णरुपमा ऐक्यबद्धता रहेको भन्ने सन्देश विश्वसामु प्रवाह हुने र यसबाट नेपालको पर्यटन प्रवद्र्धन भई अर्थतन्त्रमा थप टेवा पुग्नाका साथै प्रहरीको उपस्थितिले विश्वभरका पर्वतारोही पर्यटकमा थप सुरक्षाको अनुभूति बढ्ने विश्वास रहेको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले बताए ।
पहिलो पटक विसं २०३१ सालमा प्रहरी कर्मचारीका नौ सदस्य टोलीले छ हजार नौ सय २० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । हिमाली भेगको सुरक्षाका निम्ति प्रहरी कर्मचारीलाई सक्षम बनाउने उद्देश्यका साथ विसं २०३३ मा नेपाल प्रहरी पर्वतारोहण तथा साहसिक प्रतिष्ठान स्थापना भएको थियो ।
त्यसपछि नेपाल प्रहरी कर्मचारीको २७ सदस्य टोलीले विसं २०३३ असोज १६ गते र नेपाल प्रहरी महिला दलको ३१ सदस्य टोलीले विसं २०४१ भदौ २६ गते छ हजार एक सय १९ मिटर उचाइको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेको थियो । रासस