Logo

आगो लगाएर सम्पदा क्षेत्रको सफाइ



तौलिहवा, वैशाख १८ । राजा शुद्धोधनको राजदरबार एवं बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोटभित्रको झाडी सरसफाइ गर्ने बहानामा सम्पदा नै नष्ट हुने गरी आगो लगाएर सफाइ गरिएको छ। तिलौराकोट दरबारभित्र झाडी सरसफाइ गर्ने भन्दै आगो लगाउँदा संरक्षणकर्मीद्वारा सम्पदा नष्ट हुने चिन्ता व्यक्त गरिएको हो।

२५६७औँ बुद्ध जयन्तीको अवसरमा तिलौराकोट दरबारभित्रका झाडीमा आगो लगाएर लुम्बिनी विकास कोषले सम्पदा सरसफाइ गर्न थालेको छ। लुम्बिनी विकास कोषको आग्रहमा नेपाली सेनाले तिलौराकोटमा सरसफाइ गर्ने क्रममा आगो लगाएको आफूहरूले सुनेको कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले बताए।

सेनाले कमिला भगाउन आगो लगाएको र आगो अन्यत्र नफैलियोस् भनेर नगरपालिकाको दमकल बोलाएर निभाएको उनको भनाइ छ। उनले भने, “तिलौराकोटभित्र जमिनको सतहमाथि नै कुषाणकालीन पुरातात्त्विक वस्तुहरू भेट्छौँ।” पुरातात्त्विक संरचना जमिनका सतहमै भेटिएको ठाउँमा आगजनी गर्दा नकारात्मक असर पर्ने भएकाले यस्तो ठाउँमा आगो लगाउन नहुने अधिकृत उप्रेतीले बताए।

शम्शेर दल गणका प्रमुख दिलीप घलेले चाहिँ तिलौराकोटमा आफूहरूले सरसफाइ गरेको तर झाडीमा आगो नलगाएको बताए। तिलौराकोट दरबारभित्र झाडी र रुखमा लागेको आगो निभाउन गएको कपिलवस्तु नगरपालिकाका दमकलचालक मैसाद खानले बताए।

तिलौराकोट दरबारभित्र सरसफाइको नाममा ठाउँ–ठाउँमा आगो लगाउनु गलत भएको स्थानीय बालगोविन्द त्रिपाठीले बताए। सम्पदा क्षेत्रमा आगो लगाएपछि जमिनमुनि रहेका संरचना नष्ट हुने डर रहेको उनको भनाइ छ। भगवान् गौतम बुद्धको दरबार तिलौराकोटमा आगो लगाई गरिएको सरसफाइ अभियान सही उदाहरण नभएको उनको बुझाइ छ। प्राचीन स्मारक संरक्षण ऐनविपरीत नै कोषले तिलौराकोट दरबारमा गलत कार्य गर्न थालेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्