Logo

‘कोसी प्रदेशको सरकार असार अगावै परिवर्तन हुन्छ’



इटहरी, वैशाख १९। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोसी प्रदेशको वर्तमान सरकार असार महिना अगावै परिवर्तन हुने बताएका छन् ।

सोमबार सुनसरीको इनरुवामा आयोजित सडक शिलान्यास कार्यक्रममा बोल्दै कार्कीले कोसी प्रदेश सरकार परिवर्तन हुने संकेत गरेका हुन् ।

‘प्रदेशका साथीहरू पनि सरकार परिवर्तनका निमित्त छलफल चलाइरहेका छन्। केन्द्रमा पनि यो प्रदेश सरकारको विषयमा छलफल चलिरहेको छ,’ कार्कीले भने, ‘हामी चाँडै निष्कर्षमा पुग्नेगरी छलफल गरिरहेका छौँ ।’ अन्य सबै प्रदेशमा सरकार परिवर्तन भइसकेका कारण पनि यस प्रदेशमा चाँडै सरकार परिवर्तन हुने कुरामा आँफूहरूको दुईमत नरहेको उनको भनाइ छ । कसको नेतृत्वमा सरकार बन्छ भन्ने यकिन नभएपनि कांग्रेस र माओबादीसँगको गठबन्धनमा सरकार बन्ने उनको दाबी छ ।

अहिले कोसी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा माओबादी, राप्रपा, जसपाको सरकार रहेको छ । पूर्वमन्त्री कार्कीले एक फरक प्रसंगमा केन्द्रमा अहिले भइरहेको गठबन्धनको सरकार पाँच वर्ष नै टिक्ने दाबी गरे ।

‘पुष्पकमल दाहाल नेतृत्वको सरकार ढालेर कांग्रेस र एमाले गठबन्धन सरकार गठन हुने चर्चा परिचर्चा हुने गरेको छ,’ उनले भने, ‘केन्द्र र प्रदेशमा वर्तमान गठबन्धन दलको सरकार पांच वर्षसम्म कायमै रहन्छ । मुलुकमा अस्थिरता रहिरहोस भन्ने एउटा तत्व रहेको छ ।

त्यसलाई परास्त नगरी देश समृद्वतर्फ अगाडि बढाउन पनि गठबन्धनकै सरकार पाँच वर्षसम्म टिक्छ ।’ राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot