Logo

कांग्रेसको अनिर्णयले बाग्मती सरकार अधुरै



मकवानपुर, वैशाख १९। नेपाली कांग्रेसले निर्णय नगर्दा बाग्मती प्रदेश सरकार एक महिनादेखि अधुरो छ । कांग्रेसले आफूभित्रको द्वन्द्व मिलाउन नसक्दा प्रदेश सरकार एक महिनादेखि अधुरो बनेको हो ।

कांग्रेस बाग्मती प्रदेश संसदीय दलभित्रको आन्तरिक विवादका कारण प्रदेश सरकारमा पठाउने मन्त्रीहरूको नामावली दलले पठाउन सकेको छैन । नयाँ बजेटको तयारी गर्नुपर्ने बेला सरकार विस्तार अनिश्चित भएपछि समस्या बनेको छ ।

बाग्मतीमा हाल स्वास्थ्य मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय रिक्त छ ।

सरकारले पूर्णता नपाउनुमा कांग्रेसभित्रको कलहलाई प्रमुख समस्याका रूपमा गठबन्धन दलकै सांसदले लिएका छन् । कांग्रेसले गठबन्धनमा भागबन्डा लागेअनुसार मन्त्रीका नाम नदिँदा पाँचवटा मन्त्रालय मन्त्रिविहीन छन् ।

सत्ता समीकरणमा फेरबदल आएसँगै बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले दोस्रोपटक विश्वासको मत लिएको एक महिना कटिसकेको छ । निर्वाचनकै बेलाको गठबन्धन ब्युँतिएपछि १० चैतमा विश्वासको मत लिएर सरकारमै टिकिरहेका जम्मकट्टेलले एक महिना बढी भइसक्दा पनि सरकारलाई पूर्णता दिन नसकेका हुन् । मन्त्रिपरिषद् अपूर्ण हुनुमा जम्मकट्टेलभन्दा पनि कांग्रेस मुख्य कारण बनेको पछिल्ला राजनीतिक घटनाक्रमले देखाएको छ ।

सरकारमा जाने मन्त्रीको टुंगो कांग्रेसले लगाउन नसक्दा सरकारले पूर्णता पाउन नसकेको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताए । श्रेष्ठले कांग्रेसले मन्त्रीको नाम दिएको एक घण्टामा मन्त्रिपरिषद् विस्तार गर्न तयार रहेको बताए । सरकार विस्तार नहुनुमा सरकारको कमजोरी नरहेको श्रेष्ठले बताए । ‘कांग्रेसले मन्त्रीहरूको नाम पठाएपछि तुरुन्तै मन्त्रिपरिषद् बिस्तार हुन्छ,’ श्रेष्ठले भने ।

नयाँ बजेट बनाउनुपर्ने र कमजोर विकास खर्चलाई उकास्नुपर्ने समयमा सरकारलाई अनिश्चित बनाउँदै आइरहेको गठबन्धनकै ठूलो दल कांग्रेस भने जवाफदेहिताबाट भाग्दै आइरहेको छ ।

कांग्रेस बाग्मती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा पत्रकारसँग तर्किएर हिंडिरहेका छन् । मुख्यतः नेपाली कांग्रेसभित्र इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाबीच मत नमिल्दा मन्त्रीमा पठाउने नामको अन्तिम टुंगो नलागेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot