Logo

दबाबमा सामाजिक शिक्षा अंग्रेजीकरण गर्ने तयारी



काठमाडौं, वैशाख १९ । संस्थागत विद्यालयको दबाबमा सरकारले विद्यालय तहको अनिवार्य सामाजिक अध्ययन विषय अंग्रेजीकरण गर्ने तयारी गरिरहेको छ । यसको गतिलो उदाहरण राष्ट्रिय परीक्षा बोर्ड बनेको छ ।

यही वैशाख २६ गते सुरु हुने कक्षा १२ को परीक्षाका लागि सामाजिक विषयको नमुना प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा बनाएर आफ्नो वेबसाइटमा राखेपछि सरकारी नियत प्रस्टसँग झल्किएको हो । उक्त नियतको अहिले चौतर्फी विरोध भइरहेको छ ।

दुई वर्षअघि मात्र नेपाली भाषा र राष्ट्रियता प्रवद्र्धन गर्न भनेर विज्ञहरूसँगको बृहत् छलफलपछि विद्यालय तहको सामाजिक अध्ययन विषयलाई नेपाली भाषामा पढाउन थालिएको हो । तर हाल पाठ्यक्रम विकास केन्द्रले भने परीक्षा बोर्डकै सुझावका आधारमा वैशाख २० गते बस्ने परिषद्को बैठकमा अंग्रेजी भाषामा पनि प्रश्नपत्र सोधिने गरी निर्णय गराउने तयारी गरिरहेको छ ।

बोर्डका उपनियन्त्रक कृष्णप्रसाद घिमिरेले गत वर्ष कक्षा १२ को सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा मात्र सोधिँदा धेरै विद्यार्थीले प्रश्नका भाषा, शब्द र शब्दावली बुझ्न नसकेकाले धेरै विद्यार्थी न्यून ग्रेडमा परेको सुनाए । आजको नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्