Logo

रविजीले ‘नाइँ, त्यही केटी चाहिन्छ’ टाइपमा गृह मन्त्रालय माग्नु उचित हुन्न : कांग्रेस सांसद



काठमाडौं, १९ वैशाख । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले देशको विकराल आर्थिक अवस्थाका कारण माओवादीका अयोग्य लडाकुलाई तत्काल राहत दिन सकिने अवस्था नभएको बताएका छन् ।
‘माओवादीका लडाकु साथीहरुले लोकतान्त्रिक आन्दोलनमा योगदान गर्नुभएको छ । तर देशको आर्थिक अवस्थाका कारण उहाँहरुलाई तत्काल सम्बोधन गर्न गाह्रो छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको ढुकुटीको अवस्था बुझ्नुभएकै छ । उहाँले आफ्ना साथीहरुलाई पनि चित्त बुझाउनुपर्ने होला । तर अहिलेको अवस्था अनुकूल छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै खतिवडाले भने ।
माओवादीका अयोग्य लडाकुलाई राहतभन्दा रोजगारी दिनु उचित हुने उनले औंल्याए । खतिवडाले थपे, ‘उपनिर्वाचनमा गठबन्धन गरेर जाँदा पनि हामीले जितेको ठाउँमा हार्न पुगेका छौं । जनतामा राजनीतिप्रति एकखाले वितृष्णा छ । प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई मात्र सम्बोधन गर्ने भन्दा पनि आम जनतामा आशाका किरण छर्नुपर्ने अवस्था छ ।’ आफ्ना लडाकुभन्दा ७० वर्ष नाघेका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्दा राम्रो सन्देश जाने पनि उनले बताए ।
२०४६ पछिका भ्रष्टाचारको छानबिन गर्ने पहल गरे प्रधानमन्त्री प्रचण्ड बधाईको पात्र बन्ने पनि खतिवडाले औंल्याए । उनले भने, ‘तर त्यो सुरुवात प्रधानमन्त्रीले आफैंबाट गर्नुपर्छ । केपी ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, उपेन्द्र यादव आदिबाट गरे पनि हुन्छ ।’
समानुपातिक निर्वाचन प्रणालीका कारण सरकार अस्थिर हुन नसकेको पनि उनले बताए । खतिवडाले प्रदेश सरकार होल्डिङ स्टेसन जस्तो भएको र स्थानीय तह छोटे राजाका रुपमा विकसित भएको आरोप पनि लगाए ।
उनले रवि लामिछानेलाई सरकारमा आउन आग्रह पनि गरे । खतिवडाले थपे, ‘रविजीलाई प्रधानमन्त्रीले सरकारलाई समर्थन गर्नुुभएको छ, सरकारमा आउनोस् भन्नुभएको छ । स्वतन्त्र पार्टीले ग्रिन सिग्नल पनि दिएको छ । तर नाइँ, त्यही केटी चाहिन्छ टाइपमा गृह मन्त्रालय माग्नु उचित हुन्न । सरकारमै बसेर डेलिभरी दिन सकिन्छ भन्ने लाग्छ भने आउनुपर्छ । अब स्वार्थ बाझिने कुरामा लाग्नुहुँदैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot