Logo

राजनीतिक आडमा नक्कली भुटानी शरणार्थी



काठमाडौं, वैशाख २० । सरकारले तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको प्रमाणीकरणका लागि प्रतिवेदन तयार गर्दै गर्दा राजनीतिक शक्तिका आडमा गिरोहले नक्कली शरणार्थी खडा गरेर करोडौं ठगी गरेको खुलेको छ ।

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुलीमा संलग्न पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । राईलाई ललितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । उनको बयान मंगलबारबाट नै सुरु भइसकेको छ ।

‘राईलाई पक्राउ गरेर बयान लिन सुरु गरिसकेका छौं, घटनामा संलग्न अन्य व्यक्तिको पनि प्रहरीले खोजी गरिरहेको छ, पीडीतको संख्या र संलग्न व्यक्तिको संख्या बढ्न सक्छ,’ काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी कार्कीले भने ।

सरकारले वैशाख, २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विवरणमा आउन छुटेका शरणार्थीको विवरण थप गर्ने प्रक्रियाका लागि कार्यदल गठन गरेको थियो । सो कार्यदलको प्रतिवेदनको अनुसूचीमा नाम थपेर अमेरिका पठाइदिने भन्दै राईसहित संलग्न गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङलगायतका जिल्लाका व्यक्तिसँग ४० करोड बढी रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन भने सार्वजनिक भएको छैन ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रहेका एसएसपी डा मनोज केसीका अनुसार कार्यालयमा भुटानी शरणार्थी बनेर अमेरिका जाने नाममा ठगीमा परेका १ सय ४५ जना बढी पीडितको उजुरी आएको जानकारी दिए ।

‘२० जाहेरीमा १ सय ४५ बढीको उजुरी आएको छ, एक जाहेरीमा ६० जनासम्मको उजुरी परेको छ,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी केसीले भने ।

तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार राईले तत्कालीन गृहमन्त्री र गृह सचिवलाईसमेत मिलाउनुपर्ने भन्दै पीडितबाट ५ करोड आर्थिक लाभ लिएको बयानबाट खुलेको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् ।

‘राईले तत्कालीन गृहमन्त्री र गृहसचिवलाई पनि मिलाएर प्रक्रिया अघि बढाउने भन्दै रकम असुली गरेको पक्राउ परेकाहरूकै बयानबाट खुलेको छ, सबैको पालैपालो बयान हुँदै छ, बयानका आधारमा अन्य व्यक्तिको संलग्नताबारे पनि खुल्दै जाला,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।

थापाले १४ फागुन २०७४ देखि ६ जेठ २०७८ सम्म गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । त्यस समय उनी नेकपा माओवादी केन्द्रमा थिए भने हाल उनी नेकपा एमालेको उपाध्यक्षको भूमिकामा छन् । त्यस समय गृह सचिवमा महेश्वर न्यौपाने थिए ।

यसअघिसमेत भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले गत १२ चैतमा केशव दुलाल, सानु भण्डारी र कुमार गुरुङलाई पक्राउ गरेको थियो । यसैगरी, सोही प्रकरणमा संलग्न रहेको आरोपका आधारमा प्रहरीले १५ चैतमा सन्देश शर्मा र सागर राईलाई पनि पक्राउ गरेको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्