Logo

एसिया कप खेल्ने नेपालको सपना पूरा भयो : क्यान अध्यक्ष चन्द



काठमाडौं, २० वैशाख । नेपाल क्रिकेट एसोसिएसन (क्यान) अध्यक्ष चतुरबहादुर चन्दले एसिया कप खेल्ने नेपालको सपना पूरा भएको बताएका छन् ।

‘हिजोको जित चमत्कारभन्दा पनि क्रिकेटप्रेमी आम नेपालीको चाहना अनुसार क्रिकेट नायकहरुले ऐतिहासिक परिणाम दिएका छन् । यो निकै खुसीको कुरा हो । एसिया कप खेल्ने नेपालको सपना पूरा भयो । भारत र पाकिस्तानसँग एक दिवसीय एसियाकप खेल्ने अवसरले हामी निकै उत्साहित छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै चन्दले भने ।
क्यानले क्रिकेट खेलाडीका लागि उपयुक्त वातावरण बनाएकाले अहिलेको परिणाम आए पनि सरकारले क्रिकेटका लागि धेरै कुरा गर्न बाँकी रहेको पनि उनले औंल्याए । चन्दले थपे, ‘नेपाली क्रिकेट खेलाडीमा अद्भुत प्रतिभा छ । उनीहरुले विश्वस्तरीय प्रदर्शन गरिरहेका छन् । क्रिकेट संघले सुविधासम्पन्न र सुरक्षित रंगशाला हुने हो भन् बलिया टिमसँग खेल्ने मात्र होइन, उनीहरुलाई नेपालमै बोलाएर खेलाउने व्यवस्था गर्न सक्छ ।’ कीर्तिपुर र मूलपानी स्टेडियममा बलिया टिम बोलाएर खेलाउने स्थिति नरहेको पनि उनले औंल्याए ।
अध्यक्ष चन्दले आर्थिक चिन्ताबिना उत्कृष्ट खेल प्रदर्शन गर्ने वातावरण बनाउन खेलाडीलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्ने आवश्यकमा जोड दिए । उनले भने, ‘क्रिकेटप्रति आम नेपाली जनमानसको ध्यान गएको छ । त्यसैले अब सरकार चुप लागेर बस्न सक्दैन । आगामी बजेटमा क्रिकेटलाई उच्च प्राथमिकता दिनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot