Logo

रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन एमालेले प्रस्ताव गरेको छैन्, यो दुई सय प्रतिशत झुटो हो : रिजाल



काठमाडौं, २० बैशाख । नेकपा (एमाले) का विदेश विभाग उपप्रमुख विष्णु रिजालले रास्वपा सभापति रवि लामिछानेलाई आफ्नो पार्टीले प्रधानमन्त्रीको प्रस्ताव नगरेको स्पष्ट पारेका छन् । आज एमाले अध्यक्ष केपी शर्मा ओलीले लामिछानेलाई प्रधानमन्त्रीको लागि अफर गरेको समाचार आएपछि रिजालको यस्तो टिप्पणी आएको हो । रिजालले आफ्नो पार्टी अध्यक्ष ओलीले रविलाई प्रधानमन्त्रीको अफर गरेको भन्ने समाचार नै गलत भएको दाबी गरे ।

रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले भने,‘यो दुई सय प्रतिशत गलत हो । यो मिशईन्फरमेशन होईन, डिस्ईन्फरमेशन हो ।’ रास्वपाका नेताहरुले नै एमाले नेतृत्वबाट आफ्नो सभापति लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको दाबी गरेको बेलामा एमाले नेता रिजालको यस्तो भनाई आएको हो । पछिल्लो समय रास्वपा सरकारमा सहभागी हुनेगरि यसको नेतृत्वकर्ता लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफलमा छन् ।

सरकारलाई दिएको समर्थन पनि त्यही प्रयोजनमा कायमै राखिएको छ । रास्वपाले यही शुक्रबार सरकारमा जाने वा नजाने भन्ने निर्णय लिने बताएको छ । यो बीचमा लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरिसकेका छन् । प्रधानमन्त्री दाहाल भने रास्वपालाई सरकारमा ल्याउनको लागि सकारात्मक छन् । त्यसको लागि उनले आज सत्ता गठबन्धनको संयुक्त बैठक बोलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्