Logo

गैरकानुनी धन्दामा नेतादेखि उच्च पदस्थको जालो



काठमाडौं, वैशाख २१ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गैरकानुनी धन्दामा नेतादेखि उच्च पदस्थ कर्मचारी समेतको जालो बुनिएको खुलेको छ । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असुली गर्ने गिरोहसँग नेतादेखि सरकारी उच्च पदस्थ समेतको जालो कसिएको हो ।

यस प्रकरणमा गिरोहसँगको जालोमा संलग्न रहेको पाइएपछि तत्कालीन गृहसचिव एवं हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परेका छन् । उनलाई काठमाडौं जिल्ला अदालतले तीन दिन म्याद थपगरी अनुसन्धान गर्न अनुमति दिएको छ । पाण्डेलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको नियन्त्रणमा राखिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असुली गर्ने गिरोहसँग पाण्डेको मिलेमतो देखिएको प्रहरीको दाबी छ ।

यसअघि प्रहरीले पूर्व गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)का तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई मंगलबार नै पक्राउ गरिसकेको थियो । राइलाई जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा राखिएको छ । राईले राजनीतिक नेतृत्वलाई पनि मिलाउने भन्दै ५ करोड ६० लाख रुपैयाँ लिएको तथ्य फेला परेको प्रहरीको दाबी छ ।

सोही प्रकरणमा पूर्व मन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी र बादलका छोरा प्रतीक थापाका नाममा समेत वारेन्ट जारी गरिएको काठमाडौ प्रहरी परिसरले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट बुधबार पक्राउ पुर्जी लिएसँगै उनीहरूलाई पक्राउपुर्जी जारी गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए । गैर कानुनी असुलीमा शक्तिशाली व्यक्तिहरू पक्राउ पर्ने र पक्राउ पुर्जी जारी भइरहेको ज्ञवालीको भनाइ छ ।

‘नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा मुछिएपछि उनीहरूविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो’, ज्ञवालीले भने– ‘यसअघि पक्राउ परेकाहरूले उक्त ठगीमा रायमाझीलगायतका उच्च तहका नेता र कर्मचारीको संलग्नता रहेको भन्दै बयान दिएका थिए । सोही आधारमा थप अनुसन्धान गर्दा नेताहरूको संलग्नता देखिएको छ ।’ तत्कालीन गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई पक्राउ अनुमति लिएर खोजी गरिरहेको प्रहरीको भनाइ छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्