Logo

‘नक्कली शरणार्थी प्रकरणमा दरिलो खुट्टा टेक्न सके गृहमन्त्रीलाई जनताले जयजयकार गर्नेछन्’



काठमाडौं, २१ वैशाख । चर्चित अधिवक्ता ओमप्रकाश अर्यालले नक्कली भुटानी शरणार्थी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जनताले हृदयदेखि ‘स्यालुट’ गरेको बताएका छन् ।
‘तत्कालीन गृहमन्त्री रामबहादुर थापाको वरिपरि रहने गिरोहले संगठित रुपमा असुली धन्दा चलाएको त्यतिखेरै थाहा भएको विषय हो नि । तर त्यसमा कसैले हात हाल्न सकेका थिएनन् । यसमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई स्यालुट छ । एकदमै दरिलो खुट्टा टेक्नुभयो भने नेपाली जनताले हृदयदेखि नै स्यालुट गर्नेछन्, जयजयकार गर्नेछन् । उहाँ योभन्दा ठूलो कार्यकारी पदमा पुग्नुहुनेछ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै अर्यालले भने ।
उनले एक अर्बभन्दा बढी ठगी प्रकरणको अनुसन्धान प्रहरीले गरेको भए पनि गृहमन्त्री श्रेष्ठलाई त्यसको ‘क्रेडिट’ जाने पनि औंल्याए । अर्यालले भने, ‘गृहमन्त्रीलाई अरुलाई भन्दा बढी शंकाको सुविधा छ । प्रहरी प्रशासनले हेर्ने कुराको क्रेडिट गृहमन्त्रीलाई जान्छ । उहाँले आफ्नो जिम्मेवारी र जवाफदेहिता दृढतापूर्वक पूरा गर्नुपर्छ । हामीले यस्तै खोजेको हो नि ।’ नेपालका धेरैजसो भ्रष्टाचार राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रको संरक्षणमा भएको पनि उनले बताए ।
अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री दिने चर्चा छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा अर्यालले भने, ‘अहिले गृहमन्त्रालयमा कुनै अदलबदल गर्नुपर्दैन । गृहमन्त्रीले राम्रो काम गरिरहेका बेला कन्फ्युज गराउने काम नगरौं ।’ उनले ‘हाई-प्रोफाइल’ व्यक्तिहरुमाथि अनुसन्धान गर्न कानुनी रुपमा कुनै कमी नभएको दाबी गरे । उनले भने, ‘कानुनमा अड्चन र रिक्तता छैन । प्रहरीले जुनसुकै पदमा रहेका व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सक्छ । त्यो सर्वोच्च अदालतको न्यायाधीश वा अख्तियारको प्रमुख आयुक्त नै किन नहोस् ।’



प्रतिक्रिया दिनुहोस्