Logo

तत्कालीन गृहमन्त्री रामबहादुर थापा पनि पक्राउ पर्ने सम्भावना छ : माओवादी नेता



काठमाडौं, २१ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद सापकोटा (दीपशिखा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जनताको पक्षमा सापेक्षतामा काम गरिरहेको दाबी गरेका छन् ।
‘माधवकुमार नेपालको पार्टी पनि सरकारमै छ, उहाँको पार्टीका मन्त्रीहरु छन् । उनीहरुले के के राम्रा काम गरे, हामीले के के नराम्रा गर्यौं ? सरकारले भ्रष्टाचार रोकथाम, राहदानी, पाठ्यपुस्तक, मललगायत जनजीविका सम्बन्धित काम गरिरहेको छ । सरकारले जनताको पक्षमा सापेक्षतामा काम गरिरहेकै छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै सापकोटाले भने ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेको भन्दा ‘हाई–प्रोफाइल’ मानिसहरु पक्राउ पर्ने दाबी पनि उनले गरे । सापकोटाले थपे, ‘इजी मनी कमाउन जो जो लागे, उनीहरु दण्डित हुनुपर्छ । त्यो सशस्त्र द्वन्द्वमा लागेको होस्, वा नहोस्, सरकारले कसैलाई छाड्दैन । त्यस प्रकरणमा निर्मम अनुसन्धान गर्दा पुष्टि भयो भने तत्कालीन गृहमन्त्री रामबहादुर थापा पनि पक्राउ पर्छन् । त्यतिखेर गृहमन्त्रालयमा रहेका सबै अनुसन्धानको दायरामा छन् ।’
राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा जाने सम्भावना ‘फिप्टी–फिप्टी’ भएको पनि सापकोटाले बताए । उनले भने, ‘रास्वपाले सरकारलाई समर्थन गरिरहेको छ । यस अर्थमा ऊ सरकारपक्षीय पार्टी हो । तर सरकारमा प्रतिनिधित्व गर्ने-नगर्ने उसको कुरा हो । उसले जनतालाई डेलिभरी हुने मन्त्रालय माग गर्नु अस्वाभाविक होइन । तर फलानो नै मन्त्रालय चाहिन्छ भन्नु चाहिं उपयुक्त हुँदैन ।’ रास्वपाका सबै सर्त पूरा गर्न सम्भव नभएको उनको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्