Logo

टोपबहादुर रायमाझीविरुद्धको पक्राउ पुर्जीमा एमालेको ‘अब्जेक्सन’ छैन : तामाङ



काठमाडौं, २१ वैशाख । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले नक्कली भुटानी शरणार्थी प्रकरण पार्टीका सचिव टोपबहादुर रायमाझीमाथिको छानबिन प्रक्रियामा कुनै विरोध नरहेको बताएका छन् ।
‘त्यसमा पार्टीले अब्जेक्सन गर्दैन । प्रहरी अनुसन्धानले उहाँलाई शंकाको घेरामा राखेकाले हामीले विरोध गर्नुपर्ने कारण छैन । टोपबहादुरजी होस्, कुनै बहादुर होस्, शंका उठ्यो भने छानबिन हुनुपर्छ । चार्ज लाग्दैमा प्रमाणित हुन्छ नै भन्ने पनि छैन । भोलि ठहर्छ कि ठहर्दैन, त्यो अर्कै कुरा हो । नेपालको प्रचलित कानुन अनुसार कारबाही हुने न हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
एमाले नेता तामाङले कसैको राजनीतिक जीवनको हत्या गर्न नमिल्ने पनि बताए । उनले थपे, ‘नेपाल प्रहरीले राम्रैसँग छानबिन गरेको हुनुपर्छ । तर कुनै पनि व्यक्तिलाई अनावश्यक मुछ्न मिल्दैन । उसको राजनीतिक जीवनको हत्या गर्ने उद्देश्य राखेर चार्जसिट लगाउन मिल्दैन । जसले लगाउँछ, त्यो पनि भोलि शंकाको घेरामा आउला । कैफियत त कुनै न कुनै रुपमा बाहिर आइहाल्छ ।’
आफ्नो पार्टी सरकारमै रहेका बेला पनि केही नेता र तिनका छोराहरुको चलखेल सुनेको तामाङले बताए । उनले भने, ‘हामी सरकारमै भएका बेला केही पात्र र केही सुपुत्रहरुको धेरै चर्चा हुने गथ्र्यो । धेरै सेटिङमा लागेको गाइँगुइँ हुन्थ्यो । तर प्रमाणबिना प्रक्रिया चल्ने कुरा भएन । अब क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फाइल पनि खोल्नुपर्छ ।’
एमाले सरकार ढाल्न भन्दा पनि नयाँ ढंगले सोच्ने पक्षमा भएको उनले बताए । तामाङले भने, ‘हामी कसैलाई प्रधानमन्त्री अफर गरेर सरकार ढाल्न लागेका छैनौं । हामीले कसैलाई औपचारिक प्रस्ताव गरेका पनि छैनौं । नेपाली कांग्रेस र माओवादीलाई अलग गरेर सरकार  त बन्ला । तर त्यस्तो सरकारले पनि स्थिरता दिँदैन । राष्ट्रिय सहमतिका लागि प्रमुख पार्टीहरु एक ठाउँमा आउनु जरुरी छ ।’



प्रतिक्रिया दिनुहोस्