Logo

२०४६ पछिको भ्रष्टाचारका सबै फाइल खोल्नुपर्छ : कांग्रेस सांसद गौतम



काठमाडौं, २१ वैशाख । नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौतमले तीन मन्त्री थपिनुमा सहमति वा विमति नरहेको बताएका छन् ।
‘तीनजना मन्त्री थपिनुभयो, ठीकै छ । यसमा शेखरदा’, गगनजीको सहमति वा विमतिभन्दा पनि प्रधानमन्त्रीको अधिकारको कुरा हो । पहिले नै गरेको भए हुन्थ्यो । यतिका महिनासम्म किन खाली राखेको ? पार्टी सभापतिले सिफारिस गरेका सबै साथीहरु योग्य र क्षमतावान् हुनुहुन्छ । हामीलाई पठाउनुस् भनेका थिएनौं, राम्रा मान्छे पठाउनोस् भनेका न थियौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै गौतमले भने । पार्टीको आन्तरिक सन्तुलन कायम गर्नुपर्छ भन्नु स्वाभाविक भएको पनि उनले औंल्याए ।

सांसद गौतमले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पुरातन शैलीमै चलेकाले जनता सन्तुष्ट हुने स्थिति नरहेको बताए । गौतमले भने, ‘विगत पाँच महिनामा हामी प्रचण्डजीको दौडधुप र हस्याङफस्याङ देखिरहेका छौं । उहाँले भाषण, उद्घाटन र रिबन काटेर समय खेर फाल्नुभयो । अब पनि डेलिभरी नदिने हो भने कसैको पनि फेस भ्यालु हुने देखिँदैन । सरकारले केही पनि दिन सकेको छैन । सरकार जसरी चलेको छ, त्यसमा हामी सन्तुष्ट छैनौं । सरकारको कार्यकाल सफल होस्, प्रभावकारी ढंगले चलोस् भन्ने हाम्रो चाहना छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा बदमासी गरेका सबै व्यक्तिहरु अनुसन्धानको दायरामा आउनुपर्ने गौतमले बताए । उनले भने, ‘हामीलाई व्यक्ति वा पार्टीमा रुचि छैन । नीति प्रमुख हो । भ्रष्टाचार त भ्रष्टाचार नै हो नि । २०४६ पछिका भ्रष्टाचारका सबै फाइल निर्ममतापूर्वक खोल्नुपर्छ । भ्रष्टाचार गर्नेको नियत खराब छ, नगर्नेको पनि तिनलाई संरक्षण गर्न खोज्ने नियतमा खराबी छ । अख्तियार प्रमुख नै भ्रष्टाचारमा मुछिएपछि कसरी नियन्त्रण हुन्छ ?’

सांसद गौतमले जनताको घोर निराशा चिर्न जनमत र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जानु उपयुक्त हुन पनि औंल्याए । राजनीतिक स्थिरता नभईकन विकास र सुशासन सम्भव नहुने उनको कथन छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot