काठमाडौं, २१ बैशाख । संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारी संयुक्त ट्रेड युनियनले आन्दोलन गर्दै बिहीबार(आज) सिंहदरबारको कामकाज ठप्प बनाउने उद्घोष गरेका थिए।
उनीहरुले सरोकारवाला निकायमा यसअघि नै ज्ञापनपत्र बुझाएर सिंहदरबारको कामकाज ठप्प बनाउने उद्घोष गरेका थिए।
तर, सो उद्घोषमा कर्मचारी संयुक्त ट्रेड युनियन विभाजित भएको छ। सत्ता पक्षका ट्रेड युनियनहरुले आन्दोलन स्थगित् भएको जानकारी दिएका छन् भने सत्ता विपक्षका कर्मचारी ट्रेड युनियनले आन्दोलन जारी रहेको जनाएको छ।
सत्तापक्ष निकट ट्रेड युनियनहरू क्रमशः नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती), एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपाल र नेपाल मधेसी निजामती कर्मचारी सङ्घले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगित् गरेको जनाउँदा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठनले भने छुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी रहेको जनाएको छ।
पहिला आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दा भने सत्ता पक्ष र विपक्ष दुवै कर्मचारी ट्रेड युनियनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए।
संयुक्त कर्मचारी ट्रेड युनियनले गत बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सञ्जालले दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको थियो।
सञ्जालले सार्वजनिक गरेको तीन दिने विरोधका कार्यक्रमहरुमा बैशाख १९ गते मुख्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानून न्याय तथा संसदीय ब्यवस्था मन्त्रालय र अर्थ मन्त्रालयका सचिवहरुलाई हाम्रा मागहरु समावेश गरी “संघीय निजामती सेवा ऐन जारी गर्न” देशभरबाट मोवाईल एसएमएसमार्फत ध्यानाकर्षण गराउने, बैशाख २० गते बुधबार प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयका माननीय मन्त्रीहरु, दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई हाम्रा मागहरु समावेश गरी “संघीय निजामती सेवा ऐन जारी गर्न’’ देशभरबाट मोवाईल एसएमएसमार्फत ध्यानाकर्षण गराउने र बैशाख २१ गते बिहीबार सिंहदरवार परिसरभित्र कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई “सिंहदरवार प्रवेश नगर्न” आव्हान गर्ने कार्यसूची सार्वजनिक गरेको थियो।